arrow

प्रतिनिधि सभा

मध्यपहाडी क्षेत्रका सडकको दुरवस्था तथा वन्यजन्तुको आतङ्कप्रति सांसद राईको आक्रोश

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ४ सोमबार
dhurba-rai.jpg

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले मध्यपहाडी क्षेत्र तथा भोजपुर लगायतका पहाडी जिल्लाका सडकहरूको दुरवस्थालाई लिएर सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अलपत्र परेका सडकका कारण नागरिकले सास्ती भोग्नुपरेको भन्दै आक्रोश पोखे।

सांसद राईले हिलाम्मे र भत्किएका सडकमा सवारीसाधनहरू डुबिरहेको र बिरामी तथा सुत्केरी बोकेका गाडीसमेत अलपत्र पर्ने गरेको दुःखद वास्तविकता संसद्‌मा सुनाए। सडककै कारण सामाजिक सञ्जालमा सरकारको व्यापक आलोचना भइरहेको उल्लेख गर्दै उनले तत्काल सडक मर्मत तथा व्यवस्थापन गर्न माग गरे।

संसद्‌मा बोल्दै उनले भने, “अलपत्र परेका सडकहरूमा गाडीहरू डुबिरहेका छन्। सामाजिक सञ्जालहरूमा हामीले गालीका वर्षातहरू पाइरहेका छौँ। सरकारलाई म आग्रह गर्न चाहन्छु र अगाडि पनि हामीले ध्यानाकर्षण गराएका थियौँ। आज पनि सुत्केरी र बिरामीहरू गाडी भासिएर मध्यपहाडी सडक र भोजपुर लगायत पहाडी इलाकाका विभिन्न सडकहरूमा चोभलिरहेको (अलपत्र परेको) दृश्य हामी देखिरहेका छौँ।”

जनताले अझै पनि पुरानै बेथिति र सास्ती भोग्नुपरेको भन्दै उनले वर्तमान सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाए। दुई तिहाइ नजिकको बलियो सरकार भएर पनि जनताले अपेक्षा गरेका न्यूनतम काम समेत हुन नसकेको आरोप लगाउँदै उनले सरकार निदाएर नबस्न चेतावनी दिए।

उनले आक्रोशित हुँदै थपे, “जनताले हिजो र आज उस्तै बेथिति भोक्नुपर्ने हो भने यसको लागि ८४ मा हुने निर्वाचन ८२ मा भएको के अर्थ? यति धेरै दुई तिहाइ नजिकको सरकारले आज जनतासमक्ष दिनुपर्ने कुराहरू नदिइरहेको अवस्था छ। सरकार निदाएर नबसोस्।”

त्यस्तै, उनले सरकारको नीति तथा कार्यक्रममा कृषिका विषयमा ठूला-ठूला कुरा गरिए पनि व्यवहारमा किसानका वास्तविक समस्या समाधान हुन नसकेको टिप्पणी गरे। मध्यपहाडी क्षेत्रमा बाँदर र बँदेलका कारण किसानहरूले ठूलो दुःख पाइरहेको उल्लेख गर्दै उनले व्यङ्ग्यात्मक शैलीमा राष्ट्रपति, प्रधानमन्त्री र मन्त्री भएर कुर्सीमा मात्र नबसी बाँदरलाई नै सलामी दिनुपर्ने अवस्था आइसकेको बताए।

“यो बेलामा हामीले नीति कार्यक्रममा कृषिको विषयमा धेरै राम्रा–राम्रा ठूला–ठूला कुराहरू भन्यौँ। तर आज पनि धेरै माननीयज्यूहरूले कुराहरू उठाउनुभयो, बाँदर–बँदेलहरूले आज पनि जनताहरूलाई दुःख दिइरहेका छन्। यसको नीति कार्यक्रम हामीले कस्तो बनाउँदै छौँ, यसको हामीले के लेख्दै छौँ यस विषयमा? राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री भएर नबस्नुस्, बाँदरलाई सलामी देऊ। यदि होइन भने हामीलाई दुःख दिइरहने छ,” उनले भने।

सांसद राईले पहाडी क्षेत्रको बसाइँसराइ रोक्न र कृषि क्षेत्रलाई जोगाउनका लागि सडक पूर्वाधारको सुधार र वन्यजन्तु व्यवस्थापनसम्बन्धी तत्कालै व्यावहारिक तथा प्रभावकारी नीति आवश्यक रहेको धारणा राखे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ