सभामुख र राष्ट्रिय सभा अध्यक्षले गरे सुक्खा बन्दरगाहको स्थलगत निरीक्षण
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २२ शुक्रबार
238
Shares
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसहितको उच्चस्तरीय टोलीले आज कञ्चनपुरको दोधारा चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाहको स्थलगत निरीक्षण गरी कामको भौतिक प्रगतिका विषयमा विस्तृत जानकारी लिएको छ ।
कैलालीको टीकापुरमा आयोजना हुन लागेको अन्तर व्यवस्थापिका सम्मेलनमा सहभागी हुन सुदूरपश्चिम पुगेको सो विशिष्ट टोलीले कञ्चनपुरका विभिन्न आयोजनाहरूको अवलोकन गर्ने क्रममा सुक्खा बन्दरगाहको प्रगति बुझेको हो । अनुगमन टोलीमा उपसभामुख रुबिकुमारी र राष्ट्रियसभाकी उपाध्यक्ष लीलाकुमारी भण्डारीको समेत सहभागिता रहेको थियो ।
निर्माणाधीन सुक्खा बन्दरगाहका नेपालतर्फका प्रतिनिधि एवं कञ्चनपुर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष तेजबहादुर चन्दले सभामुखसहितको टोलीलाई आयोजनाको हालसम्मको अवस्थाबारे अवगत गराएका थिए । चन्दले बन्दरगाहका साथै कञ्चनपुरको आर्थिक विकाससँग जोडिएका अन्य दुई महत्त्वपूर्ण आयोजनाहरू मझगाउँ विमानस्थल स्तरोन्नति र दैजीछेला औद्योगिक क्षेत्रका विषयमा पनि सबै जानकारी गराएका थिए । निर्माण कम्पनीका अनुसार सुक्खा बन्दरगाहको हालसम्म अठार प्रतिशत भौतिक प्रगति भएको छ र सम्झौताअनुसार यो काम ३० महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने समयसीमा रहेको छ ।
भारत सरकारको प्राविधिक र आर्थिक सहयोगमा कुल दुई अर्ब ३७ करोड भारतीय रुपैयाँको लागतमा निर्माण भइरहेको यो बन्दरगाह क्षेत्रमा हाल पर्खाल निर्माण, कर्मचारी आवास भवन तथा मलेरिया नालामा पुल निर्माणलगायतका कामहरू तीव्र गतिमा भइरहेका छन् ।
बन्दरगाह निर्माणका लागि दोधारा चाँदनी नगरपालिका–१ स्थित गौरीशङ्कर सामुदायिक वनको ४२.३६ हेक्टर क्षेत्रफल प्रयोग गरिएको छ, जसका लागि यसअघि नै एक हजार ७०५ वटा रुखहरू कटानी गरिसकिएको थियो । नेपाल सरकार र भारत सरकारबिच सन् २०२३ जुन १ तारिखमा यो सुक्खा बन्दरगाह निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो । बन्दरगाह निर्माणका लागि प्रयोग हुने सो क्षेत्रमा दुईवटा गोदाम, क्वारेन्टाइन, भन्सार चेकजाँच, इमिग्रेसन र सुरक्षा ओसारपसार भवनलगायतका विभिन्न भौतिक पूर्वाधारहरू निर्माण हुनेछन् ।