काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साह (बालेन) को सीमासम्बन्धी विवादित अभिव्यक्तिको विरोधमा विपक्षी दलहरूले सदन अवरुद्ध गरेपछि प्रतिनिधिसभाको बैठक यही जेठ २६ गते मंगलबार दिउँसो १:०० बजेसम्मका लागि स्थगित गरिएको छ।
सोमबार बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले आफ्नो सिटबाट उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले सुरुमा बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए। तर १५ मिनेटपछि पनि राजनीतिक सहमति जुट्न नसकेको र विशेष कारणले बैठक बस्न नसक्ने भएपछि सभामुख अर्यालले बैठक जेठ २६ गते मंगलबारसम्मका लागि स्थगित गर्ने निर्णय गरेका हुन्।
प्रमुख प्रतिपक्षीसहितका विपक्षी दलहरूले प्रधानमन्त्री साहले संसद्को रोस्ट्रमबाट नेपाल–भारत सीमाका विषयमा दिएको कूटनीतिक स्टेटमेन्ट गैरजिम्मेवारपूर्ण रहेको आरोप लगाएका छन्। उनीहरूले सो विवादित अभिव्यक्ति तत्काल संसद्को आधिकारिक रेकर्ड (रेकर्डेड इतिहास) बाट हटाउनुपर्ने र प्रधानमन्त्री स्वयंले संसद् समक्ष उपस्थित भई माफी माग्नुपर्ने अडान राख्दै आएका छन्। प्रधानमन्त्री आफैँ संसद्मा आएर जवाफ नदिएसम्म सदन अगाडि बढ्न नदिने प्रतिपक्षीको निष्कर्ष छ।
संसद्मा जारी गतिरोध अन्त्य गर्न सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सोमबार सर्वदलीय बैठक आह्वान गरेका थिए। तर उक्त बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच कुरा नमिल्दा बैठक निष्कर्षविहीन टुङ्गिएको छ। रास्वपाले संसद् सुचारु गराउन प्रतिपक्षी दलहरूसँग थप छलफल र संवादलाई निरन्तरता दिने बताएको छ।
सभापति लामिछानेले प्रधानमन्त्रीको सम्बोधन विषयगत रूपमा प्रवेश गरिसकेकाले यसको कूटनीतिक र प्राविधिक जवाफ परराष्ट्रमन्त्री शिशिर खनालले दिनु नै उत्तम हुने तर्क अघि सारेका छन्। सरकारका अन्य मन्त्रालयहरू जस्तै परराष्ट्र मामिलाको विषयमा पनि सम्बन्धित मन्त्रीले सिङ्गो सरकार, प्रधानमन्त्री र नेतृत्वको प्रतिनिधित्व गर्ने भन्दै उनले सत्तापक्षको बचाउ गरे। यद्यपि प्रतिपक्षी दलहरू यो तर्क मान्न तयार नभएपछि संसद्को गतिरोध थप लम्बिने सङ्केत देखिएको छ।