माइतीघरमा श्रम संस्कृति पार्टीको खबरदारी सभा [भिडियो]
प्रधानमन्त्री नेपालीको हो कि विदेशीको दलाल हो भन्दै नाराबाजी
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २३ शनिबार
314
Shares
काठमाडौँ । श्रम संस्कृति पार्टीले प्रधानमन्त्री वालेन्द्र साहको नेपाल–भारत सीमा विवादसम्बन्धी अभिव्यक्तिको विरुद्धमा काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ। शनिबार सो पार्टीले माइतीघरमा प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्दै खबरदारी सभा आयोजना गरेको हो।
प्रधानमन्त्री साहले प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा ‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएका थिए। सोही अभिव्यक्तिलाई लिएर विपक्षी दल तथा नागरिक अगुवाहरूले प्रधानमन्त्रीको निरन्तर विरोध र प्रदर्शन गर्दै आएका छन्।
प्रदर्शनमा सहभागी दलबहादुर गुरुङले प्रधानमन्त्रीले राष्ट्रको गरिमामा आँच आउने गरी गलत र तथ्यहीन अभिव्यक्ति दिएको आरोप लगाए। उनले प्रधानमन्त्रीले नेपालको भूमि कसैलाई मिच्न नदिने अडान राख्नुपर्नेमा उल्टै नेपालले अरूको भूमि मिचेको भनी दिएको अभिव्यक्ति सरासर झूटो भएको दाबी गरे। प्रधानमन्त्रीले संसद्मा दिएको सो बयानप्रति माफी नमागेसम्म आफ्नो धर्ना र विरोध कार्यक्रम जारी रहने उनले स्पष्ट पारे।
माइतीघरमा भेला भएका प्रदर्शनकारीहरूले प्रधानमन्त्री र सरकारको कूटनीतिक कमजोरीप्रति आक्रोश पोख्दै विभिन्न नारा अंकित प्लेकार्डहरू बोकेका थिए। उनीहरूले संसद्मा प्रधानमन्त्रीले दिएको तथ्यहीन अभिव्यक्ति फिर्ता गर्न, सिंहदरबारको कुर्सीमा बस्दा नेपालीको भरोसा बन्न र कसैको कठपुतली नबन्न आग्रह गरेका थिए।
त्यस्तै प्रदर्शनकारीहरूले नेपाली माटोको रक्षा गर्न, राष्ट्रको सम्मान जोगाउन, गैरजिम्मेवार अभिव्यक्तिको विरोध गर्न, लम्पसार कूटनीति छोडेर स्वाभिमानको अडान राख्न र प्रधानमन्त्री नेपालीको हो कि विदेशीको दलाल हो भन्दै नाराबाजी समेत गरेका थिए। सरकारको यस्तो गैरजिम्मेवार अभिव्यक्तिले देशको सार्वभौमिकता र कूटनीतिक अडान कमजोर हुने भन्दै प्रदर्शनकारीहरूले राष्ट्रिय स्वाभिमानको रक्षाका लागि सरकारलाई सचेत गराएका छन्।