arrow

हर्कले मागे बालेनको राजीनामा

प्रधानमन्त्री असक्षम सावित भए, मार्गप्रशस्त गर्दा राम्रो हुन्छः हर्कराज राई [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ७ बिहिबार
harka---.jpg

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्कराज राईले प्रधानमन्त्री वालेन्द्र साह बालेनको राजीनामा माग गरेका छन्। बिहीबार बसेको प्रतिनिधि सभा बैठकको सुरुआतमै बोल्दै सांसद राईले प्रधानमन्त्री साह संसद् र जनप्रतिनिधिप्रति जवाफदेही नभएको आरोप लगाउँदै पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन्।

संसदीय नियमावलीअनुसार सांसदहरूले सोधेका प्रश्नको जवाफ दिन नसक्ने वा नचाहने प्रधानमन्त्री पदमा बसिरहनुको औचित्य नभएको राईले बताए। रक्षा, गृह मन्त्रालय र सीमा सुरक्षा जस्ता अत्यन्तै संवेदनशील विषयमा आफू र अन्य सांसदहरूले उठाएका प्रश्नहरूको बेवास्ता गरेर प्रधानमन्त्री साहले संसद्को गरिमामाथि नै प्रहार गरिरहेको भन्दै उनले कडा आपत्ति जनाए।

बैठकमा आफ्नो धारणा राख्दै अध्यक्ष राईले संसदीय नियमावलीको नियम १५ (२) को स्मरण गराए। उनले भने, "हाम्रो नियमावलीको नियम १५ (२) अनुसार सरकारको नेतृत्वकर्ता प्रधानमन्त्री आफैँ सदनमा उपस्थित भएर माननीय सांसदहरूले उठाएका प्रश्नको उत्तर दिनुपर्ने हो कि होइन? म यो प्रश्न राख्न चाहन्छु।"

आफूले गत वैशाख २८ र २९ गते नै देशको शान्ति सुरक्षा, सुकुम्बासी समस्या तथा लिपुलेक लगायतका सीमा विवादका विषयमा संसद्मा प्रश्न दर्ता गराएको तर १० दिन बितिसक्दा पनि कुनै जवाफ नआएको उनले उल्लेख गरे। प्रधानमन्त्री साहले हालसम्म मन्त्रिपरिषद् पूर्ण रूपमा विस्तार नगरेको र गृह तथा रक्षा जस्ता महत्त्वपूर्ण मन्त्रालयहरूको जिम्मेवारी आफैँसँग राखेकाले ती प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री नै सदनमा आउनुपर्ने राईको अडान थियो।

सम्बोधनका क्रममा सांसद राईले प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाउँदै थपे, "म हाम्रा प्रधानमन्त्रीज्यूलाई प्रश्न गर्न चाहन्छु— उहाँ यो पार्लियामेन्टको मेम्बर (संसद्को सदस्य) हो कि होइन? यो देशमा पार्लियामेन्ट छ कि छैन? हामी सबैले यो लोकतन्त्र र संसद्को गरिमालाई जोगाउनुपर्छ कि पर्दैन? आफ्नो कर्तव्य पूरा गर्नुपर्छ कि पर्दैन?"

उनले प्रधानमन्त्री साह नेपाली जनताको मतबाट स्थापित संसद्प्रति जवाफदेही नभएर अन्तै कतै उत्तरदायी भएको हुन सक्ने भन्दै शङ्का गर्ने ठाउँ रहेको टिप्पणी गरे। "यदि उहाँ आफ्नो संवैधानिक र संसदीय कर्तव्य पूरा गर्न सक्नुहुन्न भने उहाँले मार्ग प्रशस्त गर्दा नै देश र लोकतन्त्रका लागि राम्रो हुन्छ," राईले भने। बैठकमा उनले प्रधानमन्त्रीले संसद्मा उठेका प्रश्नहरूको सामना गर्नैपर्ने माग पटक–पटक दोहोर्‍याएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ