काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानमन्त्री वालेन्द्र साह (बालेन) ले संसद्मा दिएको नेपाल-भारत सीमासम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै तत्काल उक्त भनाइ सच्याउन माग गरेका छन्।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष राईले देशको कार्यकारी प्रमुखले नै संसद्को रोस्ट्रममा उभिएर नेपालले अन्य देशको सीमा मिचेको जस्तो गम्भीर आशयको अभिव्यक्ति दिनु आपत्तिजनक भएको बताए। उनले प्रधानमन्त्रीले कि त आफ्नो उक्त भनाइको तथ्यसहित पुष्टि गर्नुपर्ने, होइन भने नेपाली जनतासामु माफी माग्नुपर्ने अडान राखे।
रोस्ट्रमबाट बोल्दै अध्यक्ष राईले भने, "देशकै प्रधानमन्त्रीले संसद्को रोस्ट्रममा उभिएर जुन खालको अभिव्यक्ति दिनुभएको छ, त्यो सच्याइनुपर्छ भनेर हामीले माग गर्दै आएका छौँ। उहाँले सिमानाको बारेमा नेपालले कहाँ-कहाँ सिमाना मिचेको रहेछौँ भन्ने बारेमा संसद्मा स्पष्ट पुष्टि गरिदिनुपर्छ। होइन भने नेपाली जनतालाई सम्बोधन गरेर आफ्नो भनाइलाई सच्याउनुपर्छ र त्यसका लागि माफी माग्नुपर्छ।"
राईले राष्ट्रियता र सीमा सुरक्षा राज्यको पहिलो र प्रमुख दायित्व भएको उल्लेख गर्दै सीमामाथि हुने जुनसुकै अतिक्रमणविरुद्ध देशको स्पष्ट र दृढ नीति हुनुपर्नेमा जोड दिए। प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिले विनातथ्य कूटनीतिक मर्यादाविपरीत दिएको यो अभिव्यक्तिले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको अडानलाई नै कमजोर बनाउने उनको तर्क थियो।
यस संवेदनशील विषयको तार्किक समाधान नभएसम्म संसद्मा बजेट वा अन्य प्राविधिक विषयमा प्रवेश गर्नु उचित नहुने धारणा राख्दै राईले पनि प्रतिपक्षी दलहरूको विरोधमा ऐक्यबद्धता जनाए। प्रधानमन्त्रीको यही अभिव्यक्तिका कारण सोमबारको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी एमालेसहितका दलहरूले लगातार अवरोध जारी राखेका छन्।