फरेन्सिक ल्याब निकै महँगो हुने भएकाले नेपालले धेरै बनाउन सक्दैन: महावीर पुन
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २१ बिहिबार
156
Shares
काठमाडौँ । प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले नेपालका लागि फरेन्सिक ल्याब (विधिविज्ञान प्रयोगशाला) स्थापना र सञ्चालन निकै खर्चिलो हुने बताएका छन्। अत्यधिक महँगो प्रविधि र उपकरण आवश्यक पर्ने भएकाले नेपालले धेरै सङ्ख्यामा यस्ता प्रयोगशालाहरू बनाउन नसक्ने उनको भनाइ छ।
बिहीबार सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधेयकमाथि छलफल भइरहेको थियो। बैठकमा अन्य सांसदहरूले प्रत्येक प्रदेशमा फरेन्सिक ल्याब स्थापना गर्नुपर्ने आवश्यकता औँल्याएपछि पूर्वशिक्षामन्त्री समेत रहेका सांसद पुनले यस्तो प्रतिक्रिया दिएका हुन्।
सांसद पुनका अनुसार यस्ता प्रयोगशालाका लागि आवश्यक पर्ने आधुनिक उपकरणहरू निकै महँगो हुनुका साथै अन्तर्राष्ट्रिय स्तरको 'आईएसओ' मान्यता प्राप्त गर्न पनि उत्तिकै कठिन र खर्चिलो हुन्छ। पर्याप्त र तोकिएका आधुनिक उपकरणहरू नभई आईएसओ प्रमाणपत्र पाइँदैन र आईएसओ मान्यता नभएका ल्याबको प्रतिवेदनलाई विदेशमा वैधता दिइँदैन। त्यसैले नेपालको आर्थिक क्षमताले हरेक प्रदेशमा यस्ता प्रयोगशाला राख्न धान्न नसक्ने उनले स्पष्ट पारे।
नेपालले धेरै प्रयोगशाला खोल्नुको साटो एउटै मात्र भए पनि साधन-स्रोत सम्पन्न र आधुनिक प्रयोगशाला बनाउनुपर्ने र यहाँ क्षमताले नभ्याएका कतिपय जटिल चेकजाँचका कामहरू विदेशमै पठाएर गर्नुपर्ने अवस्था रहेको उनले उल्लेख गरे। विगतको उदाहरण दिँदै उनले कोरोना महामारीको समयमा पनि सुरुवाती जाँचका लागि नेपालले हङकङ लगायतका देशहरूमा नमुना पठाएको स्मरण गराए। फरेन्सिक चेकजाँचका जटिल केसहरूमा पनि विदेशी मुलुकका सुविधासम्पन्न प्रयोगशालाहरूमा पठाउने अभ्यासलाई निरन्तरता दिनु नै नेपालका लागि उपयुक्त र व्यावहारिक हुने धारणा उनले राखे।
"यस्ता प्रयोगशालाका लागि आईएसओ लिने भन्ने कुरा ज्यादै महँगो विषय हो, आवश्यक उपकरणहरू बिना आईएसओ पाइँदैन र नभई हुँदैन," बैठकमा बोल्दै सांसद पुनले भने, "त्यसैले यहाँ आफ्नो क्षमताले भ्याउने जति गर्ने र नभएका खण्डमा विदेशमा पठाउनुपर्छ। धेरै पैसा लाग्ने भएकाले यसलाई जताततै धेरै नबनाऊँ।" उनले धेरै सङ्ख्यामा फरेन्सिक ल्याब बनाउने क्षमता नेपालसँग नभएकोतर्फ उपस्थित अन्य सांसदहरूको गम्भीर ध्यानाकर्षण समेत गराए।