अहिले देशलाई पैसा चाहिएको छ, पैसा बढाउनेतिर सरकारको ध्यान [भिडियो]
मापदण्ड पुगिसक्दा पनि किन अल्पविकसित राष्ट्र बाट स्तरोन्नति गर्न समय थप गरिएको ?
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १७ आइतबार
746
Shares
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साहले नेपाललाई अहिले पैसाको आवश्यकता परेकोले सरकारको सम्पूर्ण ध्यान पैसा बढाउने (आर्थिक वृद्धि) तर्फ केन्द्रित रहेको बताएका छन्। आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद प्रमेश हमालले "सबै मापदण्ड पुगिसक्दा पनि किन अल्पविकसित राष्ट्र (एलडिसी) बाट स्तरोन्नति गर्न समय थप गरिएको?" भनी सोधेको प्रश्नको जवाफ दिँदै उनले यस्तो स्पष्टीकरण दिएका हुन्।
प्रधानमन्त्री साहले नेपाललाई उत्पादन र निर्यातमुखी अर्थतन्त्रतर्फ लैजान आवश्यक रहेको उल्लेख गर्दै तत्कालका लागि एलडीसी बाट स्तरोन्नति हुने कार्यक्रम स्थगित गरिएको जानकारी दिए। एलडिसीबाट स्तरोन्नति हुने बित्तिकै नेपाली वस्तु निर्यातमा प्राप्त हुँदै आएका कर छुट तथा व्यापारिक सहुलियतहरू गुम्न सक्ने र यसले देशको निर्यातमा गम्भीर असर पार्न सक्ने भएकाले सरकारले रणनीतिक रूपमा दुई वर्षको थप समय लिएको उनले प्रष्ट पारे।
प्रधानमन्त्री साहका अनुसार अहिले देशको मुख्य प्राथमिकता केवल प्राविधिक रूपमा आत्मविश्वास बढाउने भन्दा पनि वास्तविक रूपमा आर्थिक गतिविधि विस्तार गर्दै राजस्व र आम्दानी वृद्धि गर्नु रहेको छ।
चीनको उदाहरण दिँदै प्रधानमन्त्रीले भने, “हाम्रो छिमेकी राष्ट्र चीन अस्ती भर्खरै डेभलपिङबाट डेभलबमा गएको थियो । जबकी त्यो देश डेभलवमेन्टको परकाष्टा नाघिसकेको देश हो, त्यो । यो कुराहरु चाँही रणनितिक रुपमा सरकारले राख्नुपर्छ । अहिले नै हामीले एलडिसीबाट ग्रायजुयट हुँदैगर्दा हाम्रो व्यापारका कुराहरु, निर्यात गर्ने बस्तुहरुमा लाग्ने कर अहिले छुट पाईन्छ । हामी निर्यातमुखी हुनुपर्छ । देशमा उत्पादन भएको बस्तुहरु विभिन्न राष्ट्रहरुमा हामीले निर्यात गर्न पाउँ भन्ने हिसाबले दुई वर्ष थप गरेका हौँ । अहिले आत्मविश्वास बढाउने भन्दा पनि देशलाई पैसा चाहिएको छ, पैसा बढाउनेतिर ध्यान गएको छ, हाम्रो ।”
सरकारले निर्यातमा प्राप्त हुँदै आएका विभिन्न अन्तर्राष्ट्रिय व्यापारिक सुविधाहरूलाई संरक्षण गर्दै स्वदेशी उत्पादनलाई बलियो बनाउन यस्तो रणनीतिक कदम चालेको प्रधानमन्त्री साहले सदनलाई आश्वस्त पारेका छन्।