संसदमा प्रधानमन्त्रीले भने- नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको तथ्य फेला परेको छ
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १७ आइतबार
802
Shares
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साहले नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको पाइएको बताएका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिँदै उनले यस्तो नयाँ तथ्य सदनसमक्ष राखेका हुन्।
आफू प्रधानमन्त्री बनेपछि मात्रै यसबारे जानकारी पाएको उल्लेख गर्दै उनले नेपाल र भारतबिच देखा परेका सीमा समस्याहरूलाई वार्ता र संवादमार्फत समाधान गरिने प्रतिबद्धता व्यक्त गरे। प्रधानमन्त्री भएपछि सीमासम्बन्धी विषयमा नयाँ तथ्यहरू फेला परेको र दुवै पक्षबाट सीमा अतिक्रमण भएको पाइएको उनले जानकारी दिए।
प्रधानमन्त्री साहले संसद्मा भने, “भारतले नेपालको जग्गा मात्र नभई, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको तथ्य प्रधानमन्त्री भएपछि जानकारीमा आएको छ ।”
प्रधानमन्त्री साहले सीमाको यथार्थ अवस्था पत्ता लगाउनका लागि नेपाल र भारत दुवै देशले संयुक्त अध्ययन गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन्। सीमा क्षेत्रमा देखिएका समस्याहरूलाई एक मित्र राष्ट्रको हैसियतमा बसेर आपसी छलफलमार्फत टुङ्ग्याउने सरकारको मुख्य लक्ष्य रहेको उनको भनाइ छ।
कुन पक्षबाट कति जग्गा मिचिएको छ भन्ने विषयमा विस्तृत र वैज्ञानिक अध्ययन गरी मैत्रीपूर्ण ढङ्गले सीमा समस्याको स्थायी समाधान खोज्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उनले स्पष्ट पारेका छन्।