सीमा विवाद समाधानका लागि कुटनीतिक पहल भइरहेको छः प्रधानमन्त्री साह
कूटनीतिक नोट पठाइएको प्रधानमन्त्रीको जवाफ
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १७ आइतबार
629
Shares
काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा नेपालको लिम्पियाधुरा र लिपुलेक क्षेत्रमा भारत र चीनबीच भइरहेको व्यापारिक मार्ग निर्माणको विषयलाई लिएर सरकारको गम्भीर ध्यानाकर्षण गराइएको छ।
प्रतिपक्षी दल नेकपा (एमाले) की सांसद पद्मा अर्यालले राष्ट्रिय सार्वभौमसत्ता र अखण्डताको विषय उठाउँदै नेपाललाई बाहिर राखेर दुई छिमेकी मुलुकले गरिरहेको द्विपक्षीय समझदारीप्रति सरकारको धारणा माग गरेकी हुन्।
सांसद अर्यालले नेपालले आफ्नो नक्सामा समेटिसकेको भूमिमा त्रिदेशीय सरोकार हुनुपर्नेमा भारत र चीनले मात्र व्यापारिक नाका निर्माण गरिरहेको भन्दै यसबारे सरकारले गरिरहेको प्रयासका विषयमा प्रश्न गरेकी थिइन्।
सांसद अर्यालको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेक र लिम्पियाधुरासम्बन्धी विवाद समाधानका लागि नेपाल सरकारले भारत सरकारलाई औपचारिक रूपमा कूटनीतिक नोट पठाइसकेको जानकारी दिए।
भारत सरकारबाट प्राप्त जवाफमा दुवै देशका इतिहासविद्, नापी विज्ञ र सीमासम्बन्धी जानकारहरू सम्मिलित संयन्त्रमार्फत ‘टेबल टक’ गरी समस्याको समाधान खोज्ने प्रस्ताव आएको प्रधानमन्त्रीले सदनमा स्पष्ट पारे।
यसका साथै, प्रधानमन्त्री शाहले यस विषयमा बेलायत (इङ्गल्याण्ड) सरकारसँग पनि छलफल भइरहेको बताए। तत्कालीन ब्रिटिस इन्डियाले नेपाल छोड्दाको समयदेखि नै सीमा समस्या कायम रहेकाले यसमा बेलायतको पनि सरोकार र भूमिका हुनुपर्ने नेपालको मान्यता रहेको उनले उल्लेख गरे।
प्रधानमन्त्रीले सीमासम्बन्धी सम्पूर्ण समस्याहरू कूटनीतिक माध्यम र वार्ताबाटै समाधान हुनेमा सरकार पूर्ण रूपमा विश्वस्त रहेको समेत सदनलाई जानकारी गराएका छन्।