सभामुखलाई पार्टी प्यारोः भन्छन् - सरकार गलत बाटोमा गए घण्टी बजाएर सचेत गराउनुस् [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १६ शनिबार
859
Shares
काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले देशलाई समृद्ध, सुशासित र भ्रष्टाचारमुक्त बनाउन सबै क्षेत्रको सक्रिय भूमिका आवश्यक रहेको बताएका छन्।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै सभामुख अर्यालले सरकार गलत दिशामा गएमा वा काममा ढिलासुस्ती गरेमा घण्टी बजाएर सचेत गराउन नागरिक समाज, संघसंस्था र सरोकारवालालाई आग्रह गरे। उनी राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान उपसभापति हुन् ।
उनले कानून निर्माण प्रक्रियामा रचनात्मक सुझाव दिन तथा सरकारका कमजोरीप्रति समयमै ध्यानाकर्षण गराउनुपर्ने बताए।
उनले देशमा सुशासन स्थापना, भ्रष्टाचार नियन्त्रण र आर्थिक समृद्धिको लक्ष्य वर्तमान पुस्ताले नै पूरा गर्नुपर्नेमा जोड दिए। साथै निजी क्षेत्रलाई प्रोत्साहन गर्दै लगानीमैत्री वातावरण निर्माण गर्न आवश्यक रहेको उल्लेख गरे।
विदेशिएका नेपाली युवालाई स्वदेश फर्काउने वातावरण सिर्जना गर्नुपर्ने बताउँदै उनले नेपाललाई बस्न, काम गर्न र लगानी गर्न उपयुक्त राष्ट्रका रूपमा विकास गर्नुपर्ने धारणा राखे।
नेपाल प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाले धनी देश भएकाले ती सम्भावनाको प्रभावकारी प्रवर्द्धन गर्न सके अन्तर्राष्ट्रिय पर्यटनको प्रमुख गन्तव्य बन्न सक्ने उनको भनाइ थियो।
अर्यालले लुम्बिनी, सगरमाथा, पशुपतिनाथ मन्दिर, मुक्तिनाथ मन्दिर, जानकी मन्दिर तथा पाथीभरा मन्दिर जस्ता धार्मिक तथा पर्यटकीय गन्तव्यले नेपाललाई विश्व पर्यटन नक्सामा थप स्थापित गर्न सक्ने बताए।
उनले कानून निर्माणमा पनि नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई जनअपेक्षाअनुसार काम गर्न निरन्तर दबाब र सुझाव दिन आग्रह गरे।
सभामुख अर्यालले संविधानलाई समयानुकूल बनाउन आवश्यक सुधार र संशोधनका विषयमा समेत ठोस र व्यवहारिक सुझाव दिन सरोकारवालासँग आह्वान गरे। उनले समृद्ध नेपाल, सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माणको अभियानमा सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए।