सांसदहरू आवश्यकता सुहाउँदो कानून निर्माणमा गम्भीर हुनुपर्छ : सभामुख अर्याल
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ८ शुक्रबार
257
Shares
फाइल तस्बिर
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले देश र नागरिकको आवश्यकता सुहाउँदो कानुन निर्माणमा सांसदहरू गम्भीर हुनुपर्ने बताएका छन् ।
पूर्वसांसद मञ्च नेपालद्वारा आयोजित ‘संसदीय समितिमा विधायकी र गैरविधायिकी अभ्यास’ विषयक अन्तरसंवाद कार्यक्रममा उनले पुराना कानुन संशोधन, खारेजी तथा भविष्यलाई ध्यानमा राखेर विधायकी प्रक्रिया अघि बढाउनुपर्ने बताएका हुन् ।
सभामुख अर्यालले विधेयक निर्माण प्रक्रियामाथि प्रश्न उठाउँदै कानुनको प्रत्यक्ष प्रयोगकर्तासँग पर्याप्त छलफल नगरी कानून बनाउने प्रवृत्ति समस्याग्रस्त रहेको टिप्पणी गरे ।
“विधेयक कसले बनाउँछ, कसलाई सोधेर र कससँग छलफल गरेर बनाइन्छ ?” भन्दै उनले हालको अभ्यासले व्यावहारिक आवश्यकतालाई पर्याप्त रूपमा सम्बोधन गर्न नसकेको बताए ।
उनका अनुसार कतिपय कानूनहरू जनताको आवश्यकता, भूगोल र चेतनास्तरसँग मेल नखाने गरी निर्माण हुने गरेका छन्।
“कानून प्रयोग गर्ने नागरिकलाई कस्तो कानुन बन्दैछ भन्ने थाहा नै हुँदैन,” उनले भने, “हामी कानून बनाइदिन्छौँ र ‘अब तिमीहरूले पालना गर’ भनेर लाद्ने प्रयास गर्छौँ ।”
सभामुख अर्यालले गणतन्त्र स्थापना र लोकतान्त्रिक आन्दोलनमा पूर्वसांसदहरूको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै अग्रजहरूको अनुभव र नयाँ पुस्ताको सक्रियताबाट मुलुक समृद्धिको दिशामा अघि बढ्ने विश्वास व्यक्त गरे ।
पूर्वसांसद मञ्च नेपालकी उपाध्यक्ष सुशीला शर्माले पूर्वसांसदहरूको अनुभव र वर्तमान सांसदहरूको सक्रियताले संसदीय अभ्यासलाई थप प्रभावकारी बनाउने बताइन् ।
मञ्चका कार्यवाहक अध्यक्ष विष्णुबहादुर राउतले संसदीय समितिमा विधायकी अभ्यास, गैरविधायिकी अभ्यास तथा अन्तरराष्ट्रिय महासन्धि र अदालतका आदेश कार्यान्वयनमा समितिको भूमिकाबारे विज्ञहरूको प्रस्तुति रहने जानकारी दिए ।
कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रियसभाका विभिन्न समितिका सभापति, पूर्वसांसद, संविधानसभा सदस्य, बहालवाला सांसद तथा सरकारी अधिकारीहरूको सहभागिता रहेको थियो ।