नयाँ सरकार गठनसँगै नीतिगत स्थिरता र निजी क्षेत्रमैत्री वातावरणको आशा पलाएको छ: सभामुख अर्याल
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ४ सोमबार
625
Shares
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले मुलुकमा नयाँ सरकार गठन भएसँगै नीतिगत स्थिरता र निजी क्षेत्रमैत्री वातावरण निर्माण हुनेमा नयाँ आशा पलाएको बताएका छन्। नेपाल व्यापार शिखर सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।
सभामुख अर्यालले हाल लगानीकर्ताहरूमा देखिएको नयाँ उत्साहलाई दीर्घकालीन विश्वासमा रूपान्तरण गर्नका लागि सरकारले नीतिगत स्थायित्व कायम गर्नैपर्नेमा जोड दिए। उनले भने, “नयाँ सरकारको आगमनसँगै नीतिगत स्थिरता र निजी क्षेत्रमैत्री वातावरणको आशा पलाएको छ। यसले लगानीकर्ताहरूमा नयाँ उत्साह भर्नुका साथै उक्त उत्साहलाई दीर्घकालीन विश्वासमा बदल्न हामीले नीतिगत स्थायित्व कायम गर्न सक्नुपर्दछ।”
सभामुख अर्यालले वर्तमान समयमा आर्थिक विकासको लक्ष्य हासिल गर्नका लागि पुरानो र परम्परागत कार्यशैली मात्र पर्याप्त नहुने स्पष्ट पारे। अबका दिनमा नवीनता (इनोभेसन) र डिजिटलाइजेसनलाई मुख्य प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने उनको भनाइ थियो। “अहिले लिएको आर्थिक विकासको लक्ष्य हासिल गर्न परम्परागत शैली मात्र पर्याप्त हुँदैन। यसमा इनोभेसन र डिजिटलाइजेसनलाई मुख्य प्राथमिकता दिन सक्नुपर्दछ,” उनले थपे।
नेपालको आगामी मुख्य प्राथमिकता सूचना प्रविधि (आईटी) क्षेत्र हुनुपर्ने भन्दै सभामुख अर्यालले यही क्षेत्र नै देशको आर्थिक रूपान्तरणका लागि ‘गेम चेन्जर’ बन्न सक्ने प्रचुर सम्भावना रहेको औँल्याए। यस क्षेत्रलाई संस्थागत रूपमा अगाडि बढाउन, नेपाललाई डिजिटल बिजनेस हबका रूपमा विकास गर्न र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मैत्री कानुनी पूर्वाधार निर्माणका लागि आफूहरूले काम गरिरहेको समेत उनले जानकारी दिए।