बजेट उत्पादनमुखी अर्थतन्त्र, अन्तर्राष्ट्रिय प्रतिष्ठा र प्रविधिमैत्री परिवर्तनको भरपर्दो उपकरण बन्नेछ: अर्थमन्त्री वाग्ले
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १५ शुक्रबार
744
Shares
काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट उत्पादनमुखी अर्थतन्त्र, अन्तर्राष्ट्रिय प्रतिष्ठा र प्रविधिमैत्री परिवर्तनका लागि राखिएको जायज अपेक्षाको पत्यारिलो नीतिगत उपकरण बन्ने गरी ल्याइएको बताएका छन्। सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उनले उक्त कुरा बताएका हुन्।
अर्थमन्त्री वाग्लेले सरकार बजेटमार्फत देशमा सुशासनको नयाँ मानक स्थापित गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारे। यसका साथै, यो बजेटले राष्ट्रिय जीवनको हरेक आयाममा रूपान्तरणका लागि आम नागरिकले गरिरहेको उत्कृष्ट प्रतीक्षालाई सही ढङ्गले सम्बोधन गरेको दाबी समेत उनले गरे।
बजेट भाषणका क्रममा आफ्नो धारणा राख्दै अर्थमन्त्री वाग्लेले भने “उत्पादनमुखी अर्थतन्त्र, अन्तर्राष्ट्रिय प्रतिष्ठा, प्रविधिमैत्री परिवर्तनबारे राख्ने गरेको जायज अपेक्षाको पत्यारिलो नीतिगत उपकरण बन्नेछ भन्ने विश्वास लिएको छु। नेपालको राजनीतिमा उमेरको पुस्तान्तरण सँगसँगै राष्ट्रिय जीवनको सबै आयाममा रूपान्तरणको उत्कृष्ट प्रतीक्षा छ। यो अनुकूलतालाई आत्मसात् गर्दै नीति, कानुन, संस्था, पद्धति, प्रक्रिया, नेतृत्व र नियतमा परिस्कारपूर्वक सुशासनमा मानक स्थापित गर्न हामी प्रतिबद्ध छौँ।”
सम्बोधनका क्रममा अर्थमन्त्री वाग्लेले वर्तमान सरकार नयाँ पुस्ताको भावना र चाहनालाई केन्द्रमा राखेर सोहीअनुरूप अगाडि बढ्ने कुरामा समेत जोड दिए।