काठमाडौँ । इलाममा सञ्चालित चिया तथा दुग्धजन्य उद्योगहरूले उचित बजारीकरणको अभाव झेल्नुपरेको भन्दै नेपाली काङ्ग्रेसका सचेतक निस्कल राईले सरकारको ध्यानाकर्षण गराएका छन्। उद्योगहरूको सङ्ख्या उल्लेख्य भए पनि बजार प्रवद्र्धन हुन नसक्दा किसान र उद्यमीले उत्पादनको तुलनात्मक प्रतिफल पाउन नसकेको उनले बताएका हुन्।
इलामको औद्योगिक अवस्थाबारे जानकारी दिँदै सचेतक राईले त्यहाँ १५ भन्दा बढी चिया कारखाना, १५० भन्दा बढी छुर्पी उद्योग र सयौँको सङ्ख्यामा दुग्ध मिठाई (ललिपप) उद्योगहरू सञ्चालनमा रहेको उल्लेख गरे। यति ठूलो सङ्ख्यामा उद्योगहरू भए पनि उत्पादित वस्तुको उचित व्यवस्थापन हुन नसक्दा किसानहरू मर्कामा परेका छन्।
विशेषगरी दुग्ध क्षेत्रमा देखिएको समस्याबारे बोल्दै सचेतक राईले सरकारी निकाय दुग्ध विकास संस्थान (डीडीसी) ले नै किसानको भुक्तानी रोकेको आरोप लगाए। डीडीसीकै तथ्याङ्कअनुसार किसानले साढे तीन महिनादेखिको भुक्तानी पाएका छैनन् र अहिले किसानले झन्डै ५० करोड रुपैयाँ पाउन बाँकी रहेको उनले बताए।
लामो समयसम्म उत्पादनको मूल्य नपाउँदा किसानहरूको दैनिक जनजीवन र व्यावसायिक चक्र नै प्रभावित भएको उनको भनाइ छ। भुक्तानी अभावका कारण व्यावसायिक पशुपालन गरिरहेका किसानलाई बैंकको किस्ता तिर्न र पशु आहार खरिद गर्न समेत धौ–धौ परेको राईले उल्लेख गरे। सचेतक राईले उचित बजारीकरणको सुनिश्चितता गर्न र रोकिएको रकम तत्काल उपलब्ध गराई किसानको समस्या समाधान गर्न सरकारसँग जोडदार माग गरेका छन्।