सभामुखमाथि कांग्रेसको प्रश्न - हिजो आफैँ वेल घेर्ने, आज प्रतिपक्षले प्लेकार्ड देखाउँदा अमर्यादित भन्न मिल्छ ?
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ७ बिहिबार
383
Shares
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालमाथि स्वयं संसदीय मर्यादा उल्लङ्घन गरेको र प्रतिपक्षको आवाजलाई दबाउन खोजेको आरोप लगाएको छ। बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै नेपाली काङ्ग्रेसका सचेतक निष्कल राईले सभामुखको भूमिका निष्पक्ष हुन नसकेको भन्दै आक्रोश व्यक्त गरेका हुन्।
सचेतक राईले सरकारलाई संसद्प्रति उत्तरदायी र जबाफदेही बनाउन प्रतिपक्षी दलहरूले गरिरहेको प्रयासलाई सभामुख अर्यालले साथ नदिएको गुनासो गरे। संसद्को अभिभावक भएकाले सभामुखले संसद्को गरिमा र मर्यादालाई एक इन्च पनि तलमाथि हुन दिन नहुने भन्दै उनले आसनको ध्यानाकर्षण गराए।
हालैका बैठकहरूमा श्रम संस्कृति पार्टीका सांसदहरूले प्रधानमन्त्रीको जबाफदेहिता माग गर्दै प्लेकार्ड प्रदर्शन गरेपछि सभामुखले त्यसलाई 'अमर्यादित' भनेको विषयमा सचेतक राईले कडा आपत्ति जनाए। वर्तमान सत्तारूढ दल (राष्ट्रिय स्वतन्त्र पार्टी) हिजो प्रतिपक्षमा हुँदा गरेका आन्दोलनका स्वरूपहरूको स्मरण गराउँदै उनले सभामुख अर्यालको दोहोरो मापदण्डमाथि प्रश्न उठाए।
"यहाँ बिर्सन नहुने एउटा प्रसङ्ग उल्लेख गर्न चाहन्छु— आज सत्तामा भएको दल हिजो प्रतिपक्षमा थियो। सरकारको जबाफदेहिता खोज्दै निलो स्कार्फ घाँटीमा बाँधेर वेल घेरेको थियो। वेलमा पुगेर पलेँटी कसेर बस्ने र पुस्तक पढ्ने काम पनि हालको सत्तारूढ दलबाटै भएको थियो," सचेतक राईले संसद्मा भने, "त्यसबेला सभामुखको आसन (डोलप्रसाद अर्याल) प्रतिपक्षको बेन्चमा थियो। आफैँले गरेको त्यो कदम संसदीय र मर्यादित हुने, अनि अहिले अर्को प्रतिपक्ष दलले प्लेकार्ड बोक्दा कसरी अमर्यादित भयो?"
काङ्ग्रेस सचेतक राईले प्रतिपक्षले नीति तथा कार्यक्रम र अन्य समसामयिक विषयमा जबाफ माग्दा प्रधानमन्त्री वालेन्द्र साह (बालेन) सदनबाट भाग्न खोजेको आरोप समेत लगाए। सरकार र प्रधानमन्त्रीलाई संसद्को 'एलर्जी' नै भएको टिप्पणी गर्दै उनले संसद्लाई कार्यपालिकाले हेप्न खोज्दा पनि सभामुख मुकदर्शक बनेको जिकिर गरे।
"पछिल्लो केही समयदेखि प्रतिपक्ष दलले सरकारलाई जबाफदेही बनाउन खोजिरहेको छ। नीति तथा कार्यक्रमको जबाफ दिन प्रधानमन्त्रीको खोजी गर्ने लगायतका विषयमा प्रमुख प्रतिपक्ष दलको हैसियतले म स्वयं र अन्य माननीयज्यूहरू उठेर सरकारलाई सदनप्रति उत्तरदायी बनाउन खोजेका हौँ। तर यसमा हामीलाई सम्माननीय सभामुखज्यूको साथ मिलेन, सरकारले पनि टेरेन," राईले थपे।
उनले संसद्को मर्यादा कायम राख्ने मुख्य दायित्व सभामुख र सरकारकै भएको स्पष्ट पारे। संसद्को गरिमा र प्रतिष्ठा सिधै सभामुखको ओहोदासँग जोडिने भएकाले सरकारका गैरसंसदीय गतिविधिलाई प्रश्रय नदिन र प्रतिपक्षका आवाजलाई नियन्त्रण नगर्न काङ्ग्रेसले सभामुख अर्यालसँग माग गरेको छ।