समितिमा परराष्ट्र नीति र आगामी बजेटबारे मन्त्रालयहरूसँग छलफल हुने
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ६ बुधबार
831
Shares
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज दुईवटा महत्त्वपूर्ण संसदीय समितिका बैठकहरू बस्दै छन्। संसद् भवन नयाँ बानेश्वरमा आज प्रतिनिधिसभा अन्तर्गतको ‘अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति’ तथा राष्ट्रिय सभा अन्तर्गतको ‘विकास, आर्थिक मामिला तथा सुशासन समिति’ को बैठक बस्न लागेको हो।
बिहान ८:०० बजे सुरु हुने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्र मन्त्रालयको समग्र नीति, आगामी योजना र चालु आर्थिक वर्षका कार्यक्रमहरूको प्रगतिबारे विस्तृत छलफल हुने कार्यसूची रहेको छ। बैठकमा परराष्ट्रमन्त्री र मन्त्रालयका उच्च अधिकारीहरूलाई समेत आमन्त्रण गरिएको छ।
यसै गरी, बिहान १०:०० बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्नेछ। सो बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमाका सन्दर्भमा विभिन्न मन्त्रालयहरूसँग छलफल र परामर्श गर्ने कार्यसूची तय गरिएको छ। सरकारले जेठ १५ गते बजेट ल्याउने संवैधानिक व्यवस्था रहेकाले समितिले मन्त्रालयगत प्राथमिकता र बजेटका सिद्धान्तबारे सरोकारवाला निकायहरूसँग छलफल तीव्र बनाएको हो।