न्यायालयको अन्योल हटाउन समयमै निर्णय लिनुपर्छ : सभापति श्रेष्ठ [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ५ मंगलबार
468
Shares
काठमाडौँ । संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्माको सुनुवाइ प्रक्रियालाई निष्कर्षमा पुर्याउन ढिलाइ गर्न नहुने बताएका छन् ।
मङ्गलबार बसेको समितिको बैठकमा बोल्दै सभापति श्रेष्ठले न्यायालयमा व्याप्त अन्योल अन्त्य गर्न समयमै निर्णय लिनुपर्नेमा जोड दिए ।
बैठकको कार्यतालिका केही अगाडि सारिएको विषयमा स्पष्ट पार्दै उनले यसलाई हतारोका रूपमा बुझ्न नहुने उल्लेख गरे ।
सदस्यहरूले अध्ययनका लागि समय अभाव भएको भन्दै उठाएको जिज्ञासामा सभापति श्रेष्ठले उजुरीकर्तासँगको छलफलले विषयवस्तु थप स्पष्ट पार्ने बताए ।
उनले उजुरीकर्ताको भनाइ सुनेपछि प्रस्तावित प्रधानन्यायाधीशलाई सोधिने प्रश्न तयार गर्न र विषयको गहिराइमा पुग्न सहज हुने विश्वास व्यक्त गरे ।
प्रस्तावित प्रधानन्यायाधीशले प्रस्तुत गर्ने कार्ययोजनामाथि पर्याप्त छलफल र प्रश्नोत्तर गरिने उनको भनाइ छ ।
सुनुवाइको नतिजाका सम्बन्धमा चर्चा गर्दै सभापति श्रेष्ठले समितिसामु सिफारिस गर्ने वा अस्वीकृत गर्ने दुवै विकल्प खुला रहेको स्पष्ट पारे ।
उनले भने, “हामीले आजका लागि बैठक पहिले नै तय गरेका थियौँ, केवल समयमात्र केही अगाडि सारिएको हो । भोलिको कार्यतालिकालाई आजैबाट शुरू गर्दा प्रक्रियाले गति लिने र संस्थागत निकास छिटो निस्कने हाम्रो उद्देश्य हो । प्रस्तावित व्यक्ति सिफारिस हुन पनि सक्नुहुन्छ वा अस्वीकृत पनि हुन सक्नुहुन्छ, हामीले दुवै सम्भावनालाई ध्यानमा राखेर वस्तुगत मूल्याङ्कन गर्नुपर्छ । सही निर्णय पनि गलत समयमा गरियो भने त्यसको सान्दर्भिकता रहँदैन, त्यसैले संस्थालाई अनिर्णयको बन्दी बनाउनु हुँदैन । आजको निर्णयले न्यायालयमा केही न केही सहजता प्रदान गर्नेछ भन्ने हाम्रो विश्वास छ ।”
सर्वोच्च अदालत लामो समयदेखि नेतृत्वविहीन रहेको र आन्तरिक द्वन्द्वमा फसेको उल्लेख गर्दै उनले ढिलाइ हुँदा समस्या थप जटिल बन्न सक्नेप्रति सचेत गराए ।