arrow

प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ आजै, परे सात ओटा उजुरी

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ५ मंगलबार
supreme-court-photo-manoj-sharma.jpg

काठमाडौँ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ आजै गर्ने भएको छ। न्यायालयको नेतृत्व चयन प्रक्रियालाई गति दिन समितिले आजै दिउँसो १:३० बजेका लागि सुनुवाइको समय तय गरेको हो।

समितिका सचिव तुलबहादुर विश्वकर्माका अनुसार प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माको सुनुवाइका लागि दिउँसो १:३० बजेको समय कार्यसूचीमा औपचारिक रूपमा निर्धारण गरिएको छ। यसअघि समितिले आजै बिहान प्रस्तावित प्रधानन्यायाधीशको ६३ पृष्ठ लामो कार्ययोजना र उनीविरुद्ध प्राप्त उजुरीहरूको अध्ययन तथा कार्यतालिका निर्माणका लागि बैठक बोलाएको थियो।

बैठकमा सुनुवाइको प्रक्रिया र समयलाई लिएर सांसदहरूबीच फरक-फरक धारणा बाहिर आएका थिए। विपक्षी दलका सांसदहरू पद्मा अर्याल, वर्षमान पुन, र नरबहादुर विष्ट लगायतले स्थापित प्रक्रिया र गम्भीरतालाई ध्यानमा राख्नुपर्ने तर्क गरेका थिए। ६ वर्षको लामो कार्यकाल रहने प्रधानन्यायाधीशले गर्ने कामको विस्तृत कार्ययोजना अध्ययन गर्न सांसदहरूलाई पर्याप्त समय दिनुपर्ने उनीहरूको माग थियो।

अर्कोतर्फ, समितिका सदस्यहरू कवीन्द्र बुर्लाकोटी र मधु चौलागाईं लगायतले भने न्यायालयको अन्योल अन्त्य गर्न समयको सदुपयोग गर्नुपर्नेमा जोड दिएका थिए। उजुरी अध्ययन गर्न धेरै समय आवश्यक नपर्ने भन्दै उनीहरूले सुनुवाइ प्रक्रियालाई 'फास्ट ट्रयाक' बाट छिटो अगाडि बढाउनुपर्ने माग राखेका थिए।

सांसदहरूबीचको मतभेदका बीच समितिका सभापति बोधनारायण श्रेष्ठले संस्थालाई अनिर्णयको बन्दी बनाउन नहुने भन्दै प्रक्रिया अघि बढाउन सबै सदस्यहरूलाई सहयोगका लागि आग्रह गरे। उजुरीकर्ताहरूको भनाइ र उजुरी सुनेपछि प्रस्तावित प्रधानन्यायाधीशलाई प्रश्न गर्न झन् सहज हुने भएकाले अध्ययनका लागि धेरै लामो समय पर्खिन जरुरी नभएको उनको भनाइ थियो।

सचिवालयका अनुसार प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माविरुद्ध समितिमा कुल सात ओटा उजुरी परेका छन्। संवैधानिक व्यवस्था अनुसार, संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि मात्र राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्तिको औपचारिक बाटो खुल्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ