न्यायमूर्तिले राजनीति नै गर्न खोज्नुभएको हो भने कोट खोलेर आउनुहोला - सांसद बास्कोटा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ४ सोमबार
490
Shares
काठमाडौँ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा कायममुकायम (कामु) प्रधानन्यायाधीश सपना प्रधान मल्लले दिएको एउटा न्यायिक आदेशलाई लिएर सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसदले आपत्ति जनाएकी छन्।
प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिकी सभापति समेत रहेकी रास्वपा सांसद समीक्षा बास्कोटाले न्यायालयको पछिल्लो कदमप्रति संसद्को गम्भीर ध्यानाकर्षण गराइन्।
कामु प्रधानन्यायाधीश मल्लले संवैधानिक परिषद्द्वारा प्रधानन्यायाधीश पदका लागि गरिएको सिफारिसविरुद्ध सर्वोच्च अदालत प्रशासनले दर्ता गर्न अस्वीकार (दरपिठ) गरेको निवेदनलाई दर्ता गरेर पेसी तोक्न आदेश दिएकी थिइन्। सोही आदेशलाई लिएर संसद्मा सांसद बास्कोटाले असन्तुष्टि पोखेकी हुन्।
संसद्मा बोल्दै सांसद बास्कोटाले न्यायालयले आफ्नो मुख्य जिम्मेवारी र न्याय सम्पादनको काम छाडेर अन्य गैर-न्यायिक विषयहरूमा बढी चासो देखाउन थालेको आरोप लगाइन्। सर्वोच्च प्रशासनले कानूनसम्मत रूपमा दरपिठ गरेका रिटहरूलाई दर्ता गर्न कामु प्रधानन्यायाधीश आफैँले आदेश दिनु कत्तिको न्यायोचित र कानूनी सम्मत हो भनी उनले प्रश्न गरिन्।
अदालतभित्र राजनीतिक प्रभाव र दलीय हस्तक्षेप बढेको दाबी गर्दै सांसद बास्कोटाले न्यायाधीशहरूलाई राजनीतिक मैदानमा उत्रन चुनौती समेत दिइन्। उनले आक्रोशित हुँदै भनिन्, “न्यायमूर्तिले राजनीति नै गर्न खोज्नुभएको हो भने कोट खोलेर (राजनीतिक मैदानमा) आउनुहोला, हामी सामना गर्न तयार छौँ।”
संवैधानिक परिषद्को निर्णय र प्रधानन्यायाधीश नियुक्तिको प्रक्रियालाई लिएर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच बढ्दै गएको असमझदारी आजको संसद् बैठकमा सांसदहरूको आक्रोशका रूपमा बाहिर आएको हो।