अद्यावधिक बेरुजु सात खर्ब ५५ अर्ब नाघ्यो, असुली र अनुशासनमा चुनौती [भिडियो]
यस वर्षको लेखापरीक्षणबाट कुल बेरुजु ८८ अर्ब नौ करोड ११ लाख कायम
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १ शुक्रबार
504
Shares
काठमाडौँ । महालेखा परीक्षक तोयम रायाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०८१/८२ को ६३औँ वार्षिक प्रतिवेदन पेस गरेका छन्। राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार आयोजित विशेष कार्यक्रमका बीच नेपालको संविधानको धारा २९४ बमोजिम उनले उक्त प्रतिवेदन प्रस्तुत गरेका हुन्।
प्रतिवेदन बुझाउँदै रायाले सार्वजनिक स्रोत-साधनको परिचालनमा नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यका आधारमा ५ हजार ५२६ निकायको कुल ९४ खर्ब ८४ अर्ब ५० करोड रुपैयाँ बराबरको लेखापरीक्षण सम्पन्न गरिएको जानकारी दिए। यसमध्ये संघीय मन्त्रालय तथा निकायतर्फ २९ खर्ब १७ अर्ब ९५ करोड, प्रदेशतर्फ ३ खर्ब २० अर्ब ३० करोड, स्थानीय तहतर्फ ११ खर्ब ९ अर्ब ५२ करोड र समिति एवं अन्य संस्थातर्फ ४ खर्ब ४७ अर्ब ७७ करोडको लेखापरीक्षण गरिएको छ।
यस वर्षको लेखापरीक्षणबाट कुल ८८ अर्ब ९ करोड ११ लाख रुपैयाँ बेरुजु कायम भएको छ, जसमा संघीय सरकारी कार्यालयको हिस्सा ५३ अर्ब ४८ करोड ७७ लाख रुपैयाँ रहेको छ। योसँगै मुलुकको अद्यावधिक बेरुजु ७ खर्ब ५५ अर्ब १७ करोड रुपैयाँ पुगेको छ, जुन गत वर्षको तुलनामा २.९९ प्रतिशतको वृद्धि हो।
अद्यावधिक बेरुजुमध्ये संघीय निकायतर्फ ३ खर्ब ७८ अर्ब ५४ करोड र स्थानीय तहतर्फ २ खर्ब २० अर्ब ४७ करोड रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ। लेखापरीक्षणको प्रभावस्वरूप यस वर्ष १४ अर्ब ६३ करोड २७ लाख रुपैयाँ असुल गरी राजस्व खातामा जम्मा गरिएको छ भने ६३ अर्ब १२ करोड ९५ लाख बराबरको बेरुजु सम्परीक्षण गरिएको छ।
लेखापरीक्षण प्रक्रियालाई थप पारदर्शी र प्रविधिमैत्री बनाउन कार्यालयले टोल-फ्री नम्बर, वेबसाइट र भर्चुअल माध्यमबाट सरोकारवालासँग समन्वय गरेको महालेखापरीक्षक रायाले बताए। यस वर्ष १५ वटा कार्यमूलक र एउटा वातावरणीय विशेष लेखापरीक्षण समेत सम्पन्न गरिएको छ। प्रतिवेदनमा औँल्याइएका कैफियतहरूमा सुधार नहुँदा बर्सेनि उस्तै प्रकृतिका बेरुजु दोहोरिने गरेको भन्दै उनले संघीय संसद्, प्रदेशसभा र स्थानीय तहले यसको प्रभावकारी कार्यान्वयनमा तदारुकता देखाउने विश्वास व्यक्त गरेका छन्।