राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षकको प्रतिवेदन पेस
आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपति जोड
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १ शुक्रबार
690
Shares
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखा परीक्षकको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस भएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक विशेष कार्यक्रममा महालेखापरीक्षक तोयम रायाले उक्त प्रतिवेदन पेस गरेका हुन्।
प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले मुलुकमा बढ्दै गएको बेरुजुप्रति गम्भीर चिन्ता व्यक्त गरे। उनले सार्वजनिक निकायहरूले जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन कायम गर्नु राज्यको प्राथमिक दायित्व भएको कुरामा जोड दिए। "बेरुजु फर्स्योट गरी वित्तीय अनुशासन कायम गर्ने दिशातर्फ अग्रसर हुन सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जवाफदेही हुनुपर्छ," उनले भने।
राष्ट्रपति पौडेलले फजुल खर्चलाई निरुत्साहित गर्दै आर्थिक अनुशासन कायम गर्न सके मात्र मुलुकले दिगो शान्ति, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न सक्ने विश्वास व्यक्त गरे। उनले प्रतिवेदनले औँल्याएका त्रुटि र सुझावहरूले सम्बन्धित निकायहरूलाई जिम्मेवार बन्न प्रेरित गर्ने आशा समेत व्यक्त गरे।
आर्थिक पारदर्शिता कायम गर्न महालेखापरीक्षकको कार्यालयको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै राष्ट्रपतिले आगामी दिनमा संस्थागत क्षमता विकास, पेसागत मर्यादा र आन्तरिक सुशासन कायम गर्न कार्यालय अझ बढी क्रियाशील हुनुपर्ने खाँचो औँल्याए।