राष्ट्रिय गौरवका आयोजनामा पाँच खर्ब लगानी: २७ मध्ये तीन मात्रै सम्पन्न, प्रतिफलमा महालेखाको प्रश्न
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १ शुक्रबार
538
Shares
काठमाडौँ । सरकारले मुलुकको तीव्र आर्थिक विकास र आमनागरिकलाई विकासको मूल प्रवाहमा जोड्ने लक्ष्यका साथ अगाडि बढाएका राष्ट्रिय गौरवका आयोजनाहरू लगानी अनुसारको प्रतिफल दिन असफल देखिएका छन्। महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदनअनुसार हालसम्म २७ वटा राष्ट्रिय गौरवका आयोजनामा पाँच खर्ब ४ अर्ब ५५ करोड रुपैयाँ खर्च भइसकेको भए तापनि अपेक्षित उपलब्धि हासिल हुन सकेको छैन।
यी आयोजनाहरूको संशोधित कुल लागत अनुमान २४ खर्ब १५ अर्ब ६ करोड ९७ लाख रुपैयाँ र ६९.७ करोड अमेरिकी डलर पुगेको सन्दर्भमा हालसम्म गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो तामाकोशी जलविद्युत् आयोजना र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल गरी केवल तीनवटा आयोजना मात्रै पूर्ण रूपमा सम्पन्न भएका छन्।
आयोजनाहरूको भौतिक प्रगतिको अवस्थालाई हेर्दा समष्टिगत रूपमा ८० प्रतिशत वा सोभन्दा बढी प्रगति हासिल गर्ने आयोजनाको सङ्ख्या पाँच मात्रै रहेको छ भने ५० देखि ८० प्रतिशत प्रगति हासिल गर्ने चारवटा आयोजना छन्। ५० प्रतिशतभन्दा न्यून प्रगति भएका आयोजनाको सङ्ख्या नौ पुग्दा चारवटा आयोजनाको भौतिक प्रगति नै स्पष्ट खुल्न सकेको छैन र दुईवटा आयोजना अझै सुरु हुनै बाँकी छन्। आर्थिक वर्ष २०७८/७९ सम्ममा सम्पन्न भइसक्नुपर्ने पशुपति क्षेत्र विकास कोषको प्रगति विवरण समेत प्रतिवेदनमा स्पष्ट देखिएको छैन।
अधिकांश आयोजनाको कार्यक्षेत्र थप गर्दै जाने तर तोकिएको अवधिमा निर्माण सम्पन्न नगर्ने प्रवृत्तिका कारण लगानीअनुसारको लाभ प्राप्त हुन नसकेको महालेखाले ठहर गरेको छ। आयोजनाको बारम्बार म्याद थपिने शैलीले लागत वृद्धिसँगै आयोजनाको प्रभावकारितामा समेत गम्भीर प्रश्न उठाएको भन्दै तोकिएको समयमै काम सक्ने गरी व्यवस्थापन मिलाउन प्रतिवेदनले जोड दिएको छ।