महालेखापरीक्षक रायाले अस्वीकार गरे राजनीतिक हस्तक्षेपको आशंका, कार्यालय पूर्ण स्वतन्त्र रहेको दाबी
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १२ सोमबार
567
Shares
काठमाडौं। महालेखापरीक्षक तोयम रायाले अडिट प्रक्रियामा राजनीतिक हस्तक्षेप हुने सांसदहरूको आशंका अस्वीकार गर्दै आफ्नो कार्यालय पूर्णतः स्वतन्त्र रहेको स्पष्ट पारेका छन्। आइतबार प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले महालेखापरीक्षकको कार्यालय राजनीतिक हस्तक्षेपमुक्त रहेको स्पष्ट पारेका हुन्। अडिट प्रक्रियामा निष्पक्षता कायम गर्न कार्यालयले कुनै राजनीतिक आग्रह वा दबाब नस्वीकार्ने उनको भनाइ छ।
रायाले समितिका सांसदहरूले छलफलका क्रममा प्रश्न सोध्ने तर जवाफ नै नसुनी बैठकबाट बाहिरिने गरेको भन्दै असन्तुष्टि जनाए। उनले वर्षमा एक पटक बोलाएर प्रश्नमाथि प्रश्न गर्ने तर उत्तर नसुन्ने प्रवृत्तिको पनि आफू बेरुजु नै भन्ने गरेको भन्दै कटाक्ष गरे।
उनले भने, "समपरीक्षण गर्दाखेरी राजनीतिक हस्तक्षेप भयो कि भन्ने कुरा उठेको छ यस्तो हुँदैन। होइन। किन होइन भने समपरीक्षण गर्दाखेरी महालेखापरीक्षकको कार्यालयमा ती कुनैपनि प्रतिवेदनहरू आउँदैनन्। महालेखापरीक्षकलाई यो हटाउनुस् र यो राख्नुस् भन्ने कुरा हुँदैन। त्यसकारण यसमा शंका नगर्नको लागि म आग्रह गर्न चाहन्छु।"
रायाले बैठकको प्रक्रियामाथि प्रश्न उठाउँदै भने, "मेरो अनुरोध के हो भने प्रत्येक पटक अडिट रिपोर्ट गएपछि तीन-तीन महिनामा छलफल गरौँ न। अब पोहोर साल जेठ १७ गते भएको छलफल अब एक वर्षपछि बोलाउनुहुन्छ। अब तीनचोटि बोलाइसकेपछि त मेरो कार्यकाल नै सकिन्छ। अनि एकैचोटि प्रश्न सोध्नुहुन्छ अनि हिँड्नुहुन्छ। मेरो अनुभव के रह्यो भने धेरै प्रश्न सोध्नुभयो अनि मैले बोल्ने बेलामा हिँड्नुभयो। यहाँको चलन यस्तै हो भने त मेरो भन्नु केही छैन। नत्र हामी त यसलाई पनि बेरुजु भन्छौँ।"
उनले मुलुकमा आर्थिक सुशासन कायम गर्ने सवालमा महालेखापरीक्षकको कार्यालय प्रतिबद्ध रहेको पनि बताए।