काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले विभिन्न विषयगत क्षेत्रको अध्ययन र प्रतिवेदन तयारीका लागि सात सदस्यीय उपसमिति गठन गरेको छ। समितिका सभापति अशोक चौधरीले प्रादेशिक प्रतिनिधित्व र विषयगत विशिष्टतालाई आधार मानेर उक्त उपसमिति बनाइएको बताए।
उपसमितिमा डा. सुजता तामाङ, खगेन्द्र कर्ण, ज्ञानेन्द्र महत, गङ्गा लक्ष्मी अवाल, चन्देश्वर मण्डल, ताहिर अली बार र प्रेमबहादुर बयक सदस्य रहेका छन्। सभापति चौधरीले यो उपसमिति केवल प्रतिनिधित्वका लागि मात्र नभई सम्बन्धित विषयको गहिरो अध्ययन गरी ठोस प्रतिवेदन तयार पार्न जिम्मेवार रहने स्पष्ट पारे।
समितिले कृषि र वन लगायतका क्षेत्रका समस्या समाधानका लागि आवश्यकता अनुसार थप उपसमितिहरू पनि बनाउँदै लैजाने योजना बनाएको छ। उपसमिति गठनको निर्णयसँगै समितिको अर्को बैठक आगामी जेठ १ गते बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ।