संसद्को अभिलेखबाट असंसदीय शब्द हटाउन सभामुखले दिए निर्देशन
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३१ बिहिबार
344
Shares
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठकमा प्रयोग भएका असंसदीय र आपत्तिजनक शब्दहरू संसद्को अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिएका छन्। बिहीबारको बैठकमा सभामुख अर्यालले प्रतिनिधि सभा नियमावली २०७९ को नियम १२१ को खण्ड (घ) बमोजिम सांसदहरूलाई आफ्नो अभिव्यक्तिमा संवेदनशील हुन ध्यानाकर्षण गराए।
सभामुखले बैठकमा बोल्दा अशिष्ट, अश्लील, अपमानजनक वा सार्वजनिक शिष्टाचार र नैतिकताको प्रतिकूल हुने गरी बोल्न निषेध गरिएको कानुनी प्रावधानबारे स्मरण गराए। उनले कुनै पनि व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने शब्द प्रयोग गर्न नपाइने कुरामा जोड दिए।
यसै क्रममा, सभामुख अर्यालले २०८० वैशाख २९ गतेको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपनेता गणेश पराजुलीले प्रयोग गरेका केही शब्दहरू नियमावली विपरीत रहेको ठहर गरे। सांसद पराजुलीले आफ्नो सम्बोधनका क्रममा प्रयोग गरेका ‘भरौटेहरू’ र ‘यहाँ लुगा लगाएर पनि नाङ्गै हिँडे जस्तो गरी’ भन्ने वाक्यांशहरू संसद्को गरिमा प्रतिकूल रहेको भन्दै ती शब्दहरूलाई आधिकारिक अभिलेखबाट हटाउन सचिवालयलाई आदेश दिइएको हो।
सभामुख अर्यालले आगामी दिनमा आफ्ना धारणा राख्दा संसदीय मर्यादा र नियमावलीको पूर्ण पालना गर्न सम्पूर्ण सदस्यहरूलाई सचेत समेत गराएका छन्।