arrow

समितिको बैठकमा शिक्षामन्त्री पोखरेल 

विद्यालयको अवस्था पहिचान गर्न 'भौतिक पूर्वाधार मूल्याङ्कन' गरिने

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २९ मंगलबार
susmit-pokhrelss.jpg

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आगामी आर्थिक वर्षको बजेटलाई व्यवस्थित र वैज्ञानिक बनाउन विद्यालयहरूको भौतिक पूर्वाधारको वस्तुगत मूल्याङ्कन (इन्फ्रास्ट्रक्चर एसेस्मेन्ट) गरिने बताएका छन्।

मङ्गलवार सिंहदरबारमा आयोजित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री पोखरेलले देशभरका विद्यालयको वास्तविक अवस्था पहिचान गरी सोही अनुसारको गुरुयोजना निर्माण गरिने जानकारी दिए। मन्त्रालयले स्थानीय तहसँगको सहकार्यमा विद्यालयको कक्षाकोठा, विद्यार्थी सङ्ख्या, खुल्ला क्षेत्र, शौचालय, प्रयोगशाला र प्रतिविद्यार्थी उपलब्ध क्षेत्रफल लगायतका विषयमा विस्तृत तथ्याङ्क सङ्कलन गर्ने योजना बनाएको छ।

मन्त्री पोखरेलले डेस्क–बेन्च, ह्वाइट बोर्ड तथा स्मार्ट बोर्डको अवस्था र शिक्षक–विद्यार्थी अनुपातको समेत सूक्ष्म विश्लेषण गरिने उल्लेख गरे। "हामीले राष्ट्रिय भवन संहिता, शिक्षा नीति र अन्तर्राष्ट्रिय अभ्यासहरूलाई आधार मानी एउटा निश्चित मापदण्ड तयार पार्नेछौँ," उनले भने, "सोही मापदण्डका आधारमा विद्यालय विकासको ’मास्टर प्लान’ बनाएर बजेटलाई प्रणालीगत रूपमा परिचालन गरिनेछ।"

विश्वविद्यालयहरूको सुधारका सन्दर्भमा बोल्दै मन्त्री पोखरेलले उच्च शिक्षालाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउन र व्यावसायिकता प्रवर्द्धन गर्न पदाधिकारी नियुक्तिमा खुला प्रतिस्पर्धाको अवधारणा अघि सारिएको स्पष्ट पारे। उनले विश्वविद्यालयको नेतृत्वमा योग्य र प्राज्ञिक व्यक्तित्वहरूलाई आकर्षित गर्न उपकुलपति लगायतका पदहरूमा खुला आवेदन आह्वान गरिएको जानकारी दिए।

विश्वविद्यालयहरूमा राजनीतिकरण अन्त्य गरी प्राज्ञिक वातावरण सुनिश्चित गर्नु मन्त्रालयको प्राथमिकता रहेको बताउँदै उनले योग्य व्यक्तिहरूलाई नेतृत्वमा ल्याउने योजना कार्यान्वयन भइरहेको दाबी गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ