पुँजी बजारमा १६ अर्बको खेल: अर्थमन्त्रीले गरे 'इन्साइडर ट्रेडिङ'को खुलासा [भिडियो]
केही सिमित समूहले पुँजी बजारमा हेरफेर, इन्साइडर ट्रेडिङ गर्दै जनताको १५–१६ अर्ब रुपैयाँ दुरुपयोग
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २९ मंगलबार
333
Shares
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको पुँजी बजार र आर्थिक संस्थाहरू निश्चित समूहको कब्जामा रहेको भन्दै खुलासा गरेका छन्। मङ्गलबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले सीमित समूहले बजारमा 'इन्साइडर ट्रेडिङ' र चलखेल गरी अर्बौँ रुपैयाँ अवैध रूपमा आर्जन गरेको दाबी गरे।
अर्थमन्त्री वाग्लेले विगत केही वर्षमा वित्तीय र आर्थिक संस्थाहरू केही व्यक्तिको नियन्त्रणमा पुगेको कटु यथार्थलाई स्वीकार गर्नुपर्ने बताए। उनले भने, "करिब १५–१६ अर्ब रुपैयाँ जनताको पैसा अपचलन गरेर, मार्केट म्यानिपुलेसन र इन्साइडर ट्रेडिङमार्फत अकुत सम्पत्ति जम्मा गरी राजनीतिलाई समेत प्रभावित पारिएको थियो। केही प्रभावशाली नेताहरूलाई गोजीमा राखेर देशका राजनीतिक र आर्थिक संस्थाहरू कब्जा गर्ने काम भयो।"
मुलुक गलत दिशामा गइरहेका बेला 'जेन–जी' (नयाँ पुस्ता) को आन्दोलनले हस्तक्षेप गरी देशलाई भड्खालोमा जानबाट जोगाएको उनले उल्लेख गरे। अहिले सरकारले सुशासनलाई पहिलो प्राथमिकतामा राखेर नयाँ कोर्स सुरु गरेको बताउँदै उनले थपे, "सम्माननीय प्रधानमन्त्रीज्यूको स्पष्ट धारणा छ— पहिलो वर्ष सुशासनको जग बसालौँ, त्यसपछि विकास निर्माणका कामहरू स्वतः स्वचालित ढङ्गले अगाडि बढ्छन्।"
सरकारले पुँजी बजारलाई व्यावसायिक, पारदर्शी र विश्वस्तरीय मापदण्ड अनुसार विकास गर्ने लक्ष्य राखेको मन्त्री वाग्लेले स्पष्ट पारे। उनले स्टक एक्सचेन्जको पुनः संरचनाका लागि गठित समितिको प्रतिवेदन कार्यान्वयन गरिने जानकारी दिए।
राष्ट्रपतिमार्फत सार्वजनिक नीति तथा कार्यक्रममा पुँजी बजारप्रति उदार नीति घोषणा भइसकेको उल्लेख गर्दै उनले आगामी बजेटमार्फत ती सुधारका योजनालाई थप ठोस र संस्थागत आकार दिइने प्रतिबद्धता व्यक्त गरे।