arrow

आठ विषयगत समितिको बैठक बस्दै, बजेटदेखि अनुगमनसम्मका एजेन्डा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २९ मंगलबार
sanghiya-sachibalaya.jpg

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गतका विभिन्न ८ वटा विषयगत समितिहरूको बैठक आज बस्दैछ। सिंहदरबारस्थित विभिन्न समितिका कार्यकक्षहरूमा हुने यी बैठकहरूमा मुख्यगरी बजेट कार्यान्वयनको समीक्षा, सडक सुरक्षा, मन्त्रालयगत कार्ययोजना र विभिन्न स्थलगत अनुगमनका विषयमा विस्तृत छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

आज बिहान १० बजेदेखि नै चारवटा समितिहरू सक्रिय भएका छन्। अर्थ समितिको बैठकले अर्थ मन्त्रालयको हालको कामकारबाही, चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनको अवस्था र आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीका बारेमा छलफल गरिरहेको छ। सोही बैठकले आवश्यक उपसमितिहरू समेत गठन गर्ने तयारी गरेको छ।

त्यसैगरी, पूर्वाधार विकास समितिले मनसुनको समयमा हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै सडक सुरक्षा र सवारी व्यवस्थापनका उपायहरूमाथि केन्द्रित रहेर छलफल थालेको छ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा शिक्षा मन्त्रालयको वर्तमान अवस्था र भावी योजनामाथि विमर्श भइरहेको छ भने सार्वजनिक लेखा समितिमा समिति सम्बन्धी विशेष प्रस्तुतीकरणको कार्यक्रम तय गरिएको छ।

बिहान साढे १० बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्नेछ जसले विभिन्न उपसमितिहरू गठन गर्ने विषयमा ठोस निर्णय लिनेछ। ११ बजेदेखि सुरु हुने महिला तथा सामाजिक मामिला समितिको बैठकमा मधेसी आयोगका पदाधिकारीहरूसँग आयोगको प्रगति र चुनौतीका बारेमा अन्तरक्रिया हुने कार्यतालिका छ।

सोही समयमा सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले गण्डकी प्रदेशमा गरिएको स्थलगत अनुगमन र अन्तरक्रियाको प्रतिवेदन मस्यौदामाथि छलफल गर्ने तयारी गरेको छ। दिउँसो १ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्नेछ जसले विशेष गरी भूमिहीन नागरिकहरूका लागि बनाइएका होल्डिङ्ग सेन्टरहरूको अनुगमन र व्यवस्थापनका विषयमा केन्द्रित रहेर छलफल गर्ने सचिवालयले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ