विधिको शासनमाथि कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य छैन : सपना प्रधान मल्ल [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २६ शनिबार
585
Shares
काठमाडौँ। कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संविधान, संवैधानिक सर्वोच्चता र विधिको शासनमाथि कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने बताएकी छिन् ।
शनिबार काठमाडौँमा आयोजित कानून दिवस कार्यक्रममा सम्बोधन गर्दै उनले संविधानको कार्यान्वयनका लागि उपयुक्त वातावरण निर्माण गर्नुको विकल्प नभएको बताइन् ।
उनले अधिकार र कानुनको प्रयोगको नाममा कतै संवैधानिक सर्वोच्चता, स्वतन्त्रता र न्यायपालिकाको सार्वभौम भूमिकालाई कमजोर बनाउने प्रयास भइरहेको त छैन ? भन्ने गम्भीर प्रश्न उठेको बताएकी छन् ।
प्रधानन्यायाधीश मल्लले न्यायपालिकालाई निष्पक्ष न्यायको केन्द्र बनाउनुको सट्टा स्वार्थ संरक्षणको माध्यम बनाउन खोजिएको संकेतसमेत गरिन् ।
उनले भनिन्,‘संविधान र संवैधानिक नैतिकताभन्दा माथि कोहीपनि हुन सक्दैन । संविधानको कार्यान्वयनको लागि उपयुक्त वातावरण बनाउनुको विकल्प पनि छैन् । तर कतै अख्यिारी र विधिको प्रयोगको बाहानामा संवैधानिक सर्वोच्चता, स्वतन्त्रता र न्यायको सार्वभौम सत्तामा यसका आधारहरु र प्रत्याभूतिहरू शिथिल र अर्कमणीय बनाएर आज्ञाकारी न्यायपालिकाको र कानुनी राज्यको असमान प्रयोगको जग बसाल्न प्रयास त भएको छैन् ? भन्ने प्रश्न अहिले उठेको छ ।
‘न्यायको अन्तिम गन्तव्य बनाउनुको साटो आफ्नै स्वार्थहरूको संरक्षण गर्ने मुकुन्डो बनाउने प्रयासमा त लागिरहेको छैन् भन्ने पनि प्रश्न उठेको छ,’ उनले भनिन् ।
उनले आगामी दिनमा कुनैपनि बहाना बनाएर न्यायको स्वतन्त्रता कमजोर पार्ने, संवैधानिक मूल्यहरूमाथि धराप थाप्ने र कानुनी राज्यलाई कमजोर बनाउने दुष्प्रयास हुन सक्ने आशंका व्यक्त गरिन् ।
उनले संविधानको नाम लिएर संविधानविरुद्ध काम गर्नु परिवर्तन वा क्रान्ति हुन नसक्ने बताउँदै उनले संविधानको बिरुप पारेर संविधानको सरोकारवाला सञ्चालकहरूको रुपमा सिंर्गान नसकिने धारणा राखिन् ।
उनले विधिको शासनविरुद्ध हुने षड्यन्त्रविरुद्ध सबैले साहस, प्रतिबद्धता र आवाज उठाउनुपर्ने आवश्यकता औंल्याइन् ।
उनले भनिन्,‘आगामी दिनहरुमा कुनै कारणले र कुनै परिस्थितिमा सौदा गर्न नमिल्ने र न्यायको प्रतिस्थापन गर्न आवश्यकताको विरुद्ध यो या त्यो कारण बनाएर धराप थाप्ने दुष्प्रयास गर्ने, वातावरण निर्माण होला भन्ने डर पनि उठिरहेको छ। संविधान यथास्थितिमा राखेर संविधानको विरुद्धमा गरिने काम क्रान्ति वा परिवर्तन हुन सक्दैन । संविधानको बिरुप पारेर संविधानको सरोकारवाला सञ्चालकहरूको रुपमा सिंर्गान सकिँदैन । संरचना भत्काएर परिवर्तन रोज्ने बाहानामा आफ्नो परिवेशको उत्कृष्टता स्थापना गर्ने प्रयासले सत्तामा रहनेको धित त मर्ला तर विधिसँगको अपेक्षा राख्नेहरुको सपना भंग हुनेछ । विधिको शासनविरुद्ध षड्यन्त्र गर्नेहरुको विरुद्ध उठ्ने आँट, औकात र प्रतिबद्धता सबैले देखाउन सक्नपर्छ ।’
यस्तै उनले संविधानलाई केवल राज्य सञ्चालनको कानुनी दस्तावेजका रूपमा नभइ नागरिकको जीवनपद्धतिको आधारका रूपमा स्थापित गर्नुपर्ने धारणा राखिन् ।
संविधानबाट नै आम नागरिकले परिवर्तनको वास्तविक अनुभूति गर्नसक्ने उल्लेख गर्दै उनले राज्यका तीनै अंगले संवैधानिक मूल्य, मान्यता र समर्पण भावलाई आत्मसात् गर्दै अघि बढ्नुपर्नेमा जोड दिइन् ।
‘संविधान राज्य सञ्चालनको कानूनी दस्तावेज मात्र नभएर नागरिकको जीवनपद्दतीको रुपमा रहनुपर्दछ । त्यसबाट नै आम नागरिकलाई संवैधानिक शासकीय परिवर्तनप्रतिको वास्तविक अनुभूति हुनसक्छ । यी नै मूल्य मान्यतालाई राज्यका तीनै अंगले आत्मासात् गर्दै उच्च समर्पण भावकासाथ क्रियाशील रहन र योगदान गर्न सकौं भन्ने कामना गर्दछु,’ उनले भनिन् ।