मेयर हमालको सेवा सुविधा शिक्षा र सामाजिक क्षेत्रमा खर्च गर्ने घोषणा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २५ शुक्रबार
367
Shares
धनगढी। धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफूले प्राप्त गर्ने सेवा सुविधाको रकम शिक्षा तथा सामाजिक क्षेत्रमा खर्च गर्दै आएको बताएका छन्।
उनले पाँच वर्षको कार्यकालमा प्राप्त हुने पारिश्रमिकमा व्यक्तिगत रकम थप गरी ४४ लाख रुपैयाँ विपन्न तथा जेहेन्दार विद्यार्थीको शिक्षामा खर्च गर्ने घोषणा गरेका हुन्।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मेयर हमालले हालसम्म सेवा सुविधाबाट प्राप्त ३८ लाख ८२ हजार आठ सय ७३ रुपैयाँमध्ये ठूलो हिस्सा सामाजिक क्षेत्रमा खर्च भइसकेको जानकारी दिए। बाँकी रकममा व्यक्तिगत थप गरी कुल ४४ लाख रुपैयाँ पुर्याएर चालु शैक्षिक सत्रसम्म पूर्ण रूपमा खर्च गर्ने उनको योजना छ।
उनका अनुसार उक्त रकम सामुदायिक विद्यालयका विद्यार्थी, अपाङ्ग, असहाय तथा विभिन्न सामाजिक संस्थाहरूलाई शैक्षिक सामग्री र सहयोगका रूपमा वितरण गरिएको छ।
विगतका आर्थिक वर्षहरूमा पनि उनले गौ संरक्षण, मानव सेवा आश्रम, बहिरा विद्यालय तथा अन्य सामाजिक संस्थामा रकम सहयोग गर्दै आएका छन्।
आर्थिक वर्ष २०७८/७९ देखि हालसम्म प्राप्त सेवा सुविधामध्ये ठूलो हिस्सा शैक्षिक सामग्री तथा सामाजिक सहयोगमा खर्च भएको उनले बताए। चालु आर्थिक वर्षमा मात्रै हजारौँ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।
मेयर हमालले ग्रामीण तथा विपन्न क्षेत्रका विद्यार्थीलाई प्राथमिकतामा राखेर सहयोग गर्दै आएको उल्लेख गर्दै शिक्षकहरूको सुझावका आधारमा कार्यक्रम अघि बढाइएको बताए।
उनले आफ्नै व्यक्तिगत थप रकमसमेत जोडेर सामाजिक कामलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।