गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका– ५ मा अवस्थित सिङ्लामा झुरुप्प बस्ती रहेको छ । यहाँ करिब दुई सय भन्दा धेरै घरधुरी रहेको छ ।
गुरुङ समुदायको बसोबास रहेको सिङ्ला गाउँ समुद्र सतहदेखि करिब २१ सय मिटरमा अवस्थित छ । गुप्सिपाखा, लाप्राक गाउँदेखि करिब साढे दुई घण्टा दूरीमा रहेको यो गाउँ लोवर मनास्लु ट्रेकिङ पदमार्ग अन्तर्गत पर्दछ ।
यहाँको प्रमुख पेशा कृषि, ट्रेकिङ र वैदेशिक रोजगार हो । २०७२ सालको भूकम्पले सम्पूर्ण गाउँ खण्डहर बनेको थियो। हाल गाउँ विस्तारै उठ्न थालेको छ ।
गोरखा जिल्लाको निकै दुर्गम गाउँ रुपमा रहेको सिङ्लामा कच्ची ट्रयाक खोलिए पनि सवारी साधन भने अहिलेसम्म पनि पुग्न सकेको छैन । जसका कारण सो गाउँका स्थानीयहरु घण्टौँ पैदल हिँड्न बाध्य छन् ।
जिल्लाकै माछाखोला, लाप्राक र बारपाकदेखि खाद्यान्न लगायत दैनिक उपभोग्य सामान बोकेर र खच्चर प्रयोग पारेर घण्टौँ समय लगाएर त्यहाँ पुर्याउने गरिन्छ ।
पर्यटकीय दृष्टिकोणले अति नै सुन्दर यस गाउँबाट गणेश, श्रिङ्गी, बौद्धलगायत हिमालको अवलोकन गर्न सकिन्छ । गाउँबाट करिब दुई घण्टाको उकालो दूरीमा ३२५० मिटरमा अति रमणीय रुकाङ डाँडा पर्दछ ।
गाउँमा गुरुङ समुदायको रहनसहन, संस्कृति, अर्गानिक खाना र मीठो आतिथ्यको स्वाद लिन पाइन्छ ।