arrow

बिहानीको हिँडाइमा सँगै हिँडेका र छोडेर गएका मित्रहरूको सम्झना

logo
डा द्वारिकानाथ ढुंगेल/ श्यामप्रसाद अधिकारी,
प्रकाशित २०८२ चैत ७ शनिबार
dwarikanath-shyamprasad-07-12.jpg.jpeg

दशकौँ भएछ बिहानीको हिँडाइ थालेको। द्वारिका ढुंगेल बानेश्वर क्षेत्रमा बस्न आउनुअघि पितामह स्वर्गीय मुक्तिनाथको झोछे टाोलस्थित घरबाट वटु मुबहालमा बस्ने अमृतरत्न बज्राचार्यसँग वर्षौँ बिहान सबेरै उठेर पूरै टुँडिखेल एक चक्कर लगाउने गर्थे । त्यसपछि काठमाडौँ गणेशको आशीर्वाद लिएर दिउँसो सिंहदरबारको जागिरमा हाजिर हुन जान्थे । आज अमृत बज्राचार्य हामीलाई कुनै ईश्वरीय लोकबाट हेरिरहेका होलान् ।

चालीसको दशकमा  द्वारिका बानेश्वर बस्न थालेपछि उनको बिहानको हिँडाइले नयाँ स्वरूप लियो । सन्तबहादुर गुरुङसँग पशुपतिनाथ, गुहेश्वरी र कात्यायनी मन्दिरको दर्शन गर्ने क्रम शुरू गरे । त्यस क्रममा हामी- श्यामप्रसाद अधिकारी र योगेन्द्रनाथ ओझा-सँग भेट हुँदा नमस्ते आदानप्रदान गर्दै अघि बढ्थे। पछि श्यामप्रसाद अधिकारी, सन्तबहादुर गुरुङ र द्वारिका ढुंगेल—बानेश्वर क्षेत्रमा बिहान हिँड्ने तीन परिचित अनुहार बन्न पुग्यौँ ।

सन्तबहादुर गुरुङले सधैँका लागि हामीलाई छोडेर गएपछि पहिले पशु बिज्ञ र चिकित्सक डा. युदय सिंह र त्यसपछि बन बिज्ञ मञ्जुल हकले साथ दिन थाले। त्यसैबीच बाल साहित्यकार गोपालप्रसाद पराजुली पनि हाम्रो समूहमा जोडिए। डा. सिंह कम बोल्ने स्वभावका हुनुहुन्थ्यो, तर बोल्दा सरकारी सेवामा रहेर पशु चिकित्साको क्षेत्रमा बिताएका अनुभव सुनाउनुहुन्थ्यो। 

वनका ज्ञाता तथा त्रिभुवन विश्वविद्यालयको वन अध्ययन संस्थानका पूर्व डिन मञ्जुल हक भने वनका रोचक कुरा सुनाउनुहुन्थ्यो। त्यसबाहेक उहाँ बिहानैको हिँडाइमा संस्कृतका श्लोक सुनाएर हामीलाई मन्त्रमुग्ध बनाउनुहुन्थ्यो ।

हरेक रमजानपछि आउने पर्वमा उहाँले हामीलाई नबिराई सिवैयाँ खान निम्त्याउनुहुन्थ्यो। त्यस अवसरमा हामी—श्यामप्रसाद अधिकारी, डा. युदय सिंह, गोपालप्रसाद पराजुली र द्वारिका ढुंगेल—ठाटिएर नयाँ बानेश्वरस्थित उहाँको घर पुग्दा प्रायः पूर्व मुख्य अधिकृत (आइजिपी स्तर) शैलेन्द्रप्रसाद सिंह र पूर्व प्रशासक डा. टिकराम शर्मासमेत सिवैयाँ खान पुगिसक्नुभएको हुन्थ्यो। टन्न सिवैयाँ खाएर रमाइलो गर्दै फर्किने ती क्षण आज पनि स्मरणीय छन्।

जब मञ्जुल हक र डा. युदय सिंहले सधैँका लागि हामीलाई छोडेर जानुभयो, तब श्यामप्रसाद अधिकारी, गोपालप्रसाद पराजुली र द्वारिका ढुंगेलको बिहानको हिँडाइमा साथ दिन कृष्णप्रसाद नेपाल आउनुभयो। तर उहाँ पनि छिट्टै हामीबाट टाढिनुभयो।

त्यसपछि बाँकी रह्यौँ—गोपालप्रसाद पराजुली, श्यामप्रसाद अधिकारी र द्वारिका ढुंगेल। कात्यायनी मन्दिर क्षेत्रको बिहानको हिँडाइमा हामी तीनजना ‘तीन थारो गाई’ भनिन थालियौँ। तीमध्ये एकजना अनुपस्थित भए भने “आज फलाना खै?” भन्ने प्रश्न अवश्य उठ्थ्यो।

तर समयले यहाँ पनि छुट दियो। गोपालप्रसाद पराजुलीले पनि हामीलाई झुक्याएर सधैँका लागि बिदा लिनुभयो। अहिले भने श्यामप्रसाद अधिकारी र द्वारिका ढुंगेल—यी दुई मात्र—अझै पनि बिहान हिँडिरहेका छौँ। हामीमध्ये एक जना नआए भने अर्कोले “खै आज?” भनेर सोध्ने चलन अझै बाँकी छ।
 
हिँडाइपछि अधिकारीबासमा केही बसेर चियामा चुस्की लिँदै आकास, जल, थल, मुलुकभित्र र बाहिरका विषय र नेपालको भविष्यका बारेमा बात मारेर आजको लागि बस नमरी बाँचे कालले साँचे फेरि भेटौँला भन्दै छुट्टिन्छौँ । 

बिहानको हिँडाइसँग जोडिएको अर्को रमाइलो पक्ष पनि छ। मिलनचोकस्थित इलामे बास्तौलाजीको अखबार पसलमा अखबार किन्दा पसलधनीसँग गफिने, अनि पसल अगाडि नै थिमीबाट साइकलमा चम्सुर र पालुङ्गो बेच्न आउनेसँग नेवारी भाषामा मजाक नगरे दिनभरि केही नपुगेजस्तो लाग्छ।

गोपालप्रसाद पराजुलीले  बैशाख चण्डी पूर्णिमाका दिन आफ्नो जन्मदिनकाे  कार्यक्रम आयोजना गर्दा हामीलाई नछुटाई बोलाउने गरेको सम्झना पनि आउँछ। उहाँ प्रत्येक वर्ष जन्मदिन मनाउँदा दसजना नयाँ अनुहारलाई निम्त्याउनुहुन्थ्यो, तर हामी दुई भने सधैँ स्थायी पाहुना जस्तै रहन्थ्यौँ।

आज ईद–उल–फित्रको अवसरमा दिवंगत मित्र मञ्जुल हकको आत्माको शान्तिको कामना गर्दै सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरूलाई शुभकामना व्यक्त गर्न चाहन्छौँ। साथै बिहानको हिँडाइमा साथ दिँदै सधैँका लागि हामीलाई छोडेर गएका मित्रहरू—बज्राचार्य, गुरुङ, सिंह, नेपाल र पराजुली—सबैको आत्माको शान्तिको कामना गर्दै भन्न चाहन्छौँ: हामीले तिमीहरूलाई बिर्सेका छैनौँ । 

सुनेका छौँ - डा टीकाराम शर्माले पनि संसार छोडिसक्नु भयो - उहाँको आत्माको शान्तिको कामना गर्दछौँ ।

यी सम्झनाका वृत्तान्त पढेर कहिलेकहीँ बिहानको हिँडाइमा साथ दिनु भएका योगेन्द्रनाथ ओझा, डा. कैलाश प्याकुरेल र डा. कृष्णप्रसाद आचार्य पनि पक्कै खुशी हुनुहुनेछ भन्ने विश्वास गरेका छौँ।     
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ