विषय प्रवेश
लोकको संस्कृति नै लोकसंस्कृति हो । लोकको संस्कृति भन्नाले परम्परागत रूपमा लोकमा प्रचलित, लोकमा व्याप्त संस्कृति हो भन्न खोजिएको हो । लोकले भोगेको दुःख, सुख, हर्ष, विषाद, आँसु र हाँसोका अनेक अनुभवहरू मनमा उनेर, गुनेर र बुनेर राख्ने गरेको हुनाले लोकविश्वासमा परिणत त्यस्ता धारणा, भावना, मान्यता र अनुभवहरू व्यापक सांस्कृतिक चास्नीमा चोपलिँदै समाजमा भावी पिँढीका निम्ति उपहार बनेर लोकसंस्कृतिका रूपमा सग्रहित, सम्प्रसारित र प्रत्यार्पित हुँदै जाने गर्छन् ।
लोकको सम्पत्ति भएको हुनाले लोकसापेक्ष हुनु लोकसंस्कृतिको धर्म हो । इतिहासका आँखा नपुगेका कुनाकाप्चासम्म लोकरचनाकारका तीखा नजरहरू पुग्छन् । इतिहासकारले वर्णन गर्न छुटाएका राँटाराँटी मेट्ने कामका साथै त्यस्तो इतिहासको निर्माण तथा हौसला र पीरमर्काहरू तथा ठूल्ठूला युद्धका रोचक प्रसङ्गहरू लोकसंस्कृतिमा नछुटिकन समाबेश भएर जनसमक्ष पुगेको हुन्छ ।
न्यायपूर्ण समाजको सिर्जनाद्वारा समाजको अग्रगामी रुपान्तरण गर्न लोकसंस्कृतिको सही उपयोग गर्न सकिन्छ । सुख र आनन्दभन्दा दुःख र वेदनाले मानिसहरूको मनलाई रुमल्छ, अभिभूत, अस्तव्यस्त पार्छ, जकड्छ ।
वास्तवमा मानवको व्यक्तित्व जन्मले निर्धारण हुँदैन । सामाजिक चेतना भनेको मानिसहरूको विचार, दृष्टिकोण र सिद्धान्त, सामाजिक भावना, मानिसहरूको बानीबेहोरा र रीतिरिवाजको समुच्चय हो । बज्जि समाजको आफ्नै रहनसहन, खानपिन, वेशभूषा, देवीदेवता, रीतिरिवाज सवै कुरो अन्यको भन्दा थोर बहुत फरक छ । यहाँका पुरुषको पहिरन धोतीकुर्ता, गमछा र पाइजामा–कुर्ता, टोपी तथा आइमाइहरूका पहिरन साडीव्लाउज र केटिहरूका पहिरन सलवार, फ्राँक, सल हो, केटाहरूको पहिरन सर्ट, पैन्ट, हाफ पैन्ट हो ।
केही मानिस सरस्वती, लक्ष्मी, काली बन्नी, भगबती, जगदम्बा, वटवृक्ष, तुलसी, केरा, पीपल, अमला, विष्णु, व्रह्मा, गणेश, नागदेवता, निरंजन भगवान, नरसिंह भगवान, ब्रह्म बाबा, भैरोनाथ, विश्वकर्मा, चित्रगुप्तको साथसाथै क्षेत्रीय देवीदेवता मां गहिल, बन्नीमाई, गोरआ, सोखा कारीख, गणिनाथ, सलेश, अमरसिंह, केवलसिंह, भूइया बाबा, फेकुराम, नकटीमाई, बुढिया माई आदि देवी देवताहरूको पूजा धुमधामसँग गर्दछन् । सम्पूर्ण बज्जिकाभाषीहरू प्रमुख रूपले जुन पर्वत्योहार मनाउँदछन्, त्यसमा होली, छठ, दीपावली, दशहरा, नागपंचमी, गोवर्धनपूजा, तीज (हरितालिकाव्रत), मकर सङ्क्रान्ति, राखी आदि हुन् ।
बज्जिका लोकसंस्कृति सहज रुपमा बझ्न र ग्रहण गर्नको लागि निम्न बुँदाहरुका आधारमा यसप्रकार चर्चा गर्न सकिन्छ : ः
१.बज्जिका लोकसाहित्य
२ बज्जिकाको लोकप्रिय लोकगीत
३ बज्जिका संस्कार गीत
४ बज्जिका लोकजीवनमा जोङ्गटोङ्ग (टोटका, जादू)
५ भक्तिसित सम्वन्ध गीतहरू
६ निष्कर्ष
१ बज्जिका लोकसाहित्य
लोक+साहित्य मिलेर बनेको लोकसाहित्य शब्दभित्र लोक शब्द विशिष्ट महत्वको छ । यस शब्दले लोकसाहित्यलाई सिर्जित साहित्यबाट छुट्याएर पृथक् अस्तित्व प्रदान गरेको छ । लोकसाहित्यको मूल पहिचान लोक शब्दमा निहित रहेको हुँदा यसको ब्यूत्पत्ति र अर्थ केलाउनु आवश्यक छ । लोकृदर्शने धातुबाट निर्मित लोकते शब्दको सन्दर्भबाट लोकको अर्थ हेर्नेवाला, देख्नेवाला भन्ने हुन्छ । यस परिप्रेक्ष्यबाट लोक शब्दको सामान्य अर्थ हेर्ने वा देख्ने कार्य सम्पन्न गर्ने समस्त जनसमुदाय हुन आउछ । साहित्यका सन्दर्भबाट हेर्दा लोकको यस ब्युत्पत्तिमूलक अर्थले हेर्ने वा भोग्ने जनसमुदायको साहित्य नै लोकसाहित्य हो भन्ने स्पष्ट संकेत दिन्छ ।
जन र ठाउँ दुबै अर्थमा लोक शब्दको प्रयोग प्राचीन कालदेखि नै हुँदै आएको पाइन्छ । प्रकृतिका माध्ययमबाट मानबसमाजले जति शिक्षा प्राप्त गरेको छ, त्यसको त कुनै विराम नै छैन । तत्कालीन कुनै समाजलाई सर्वाङ्गीण रूपबाट बुझ्नको लागि तत्कालीन भौतिक उत्पादनको अवस्था र जनताको मानसिक आत्मिक स्थिति, यी दुबैको विश्लेषण गरेर हेर्नु आवश्यक हुन्छ र त्यसका निम्ति लोकसाहित्य यौटा महत्वपूर्ण सामग्री हुन सक्छ । मानवले प्रकृतिबाट धेरै कुरा ग्रहण गर्यो । बसाइ सराईबाट संस्कृतिको ग्रहण र हस्तान्तरण अकुण्ठिक प्रवाहित रह्यो ।
सीमित क्षेत्रमा व्यापक विभिन्नता नेपालको सामाजिक बनोटको माैिलकता हुन गयो । लोकसाहित्य मौखिक रूपमा जीवित साहित्य हो । सामाजिक मूल्य र मान्यताहरूमा आधारित र परम्पराकै प्रवाहमा लोकसाहित्य जीवित रहेको हुन्छ । लोककण्ठमा पुराना प्रवृत्ति र परम्परागत नयाँ स्वरूपको सम्मिश्रणका साथै चिरनबीनता सरल र सरस शैलीमा स्वच्छन्द र उन्मुक्त पाराले प्रस्तुत भएको हुन्छ लोकसाहित्य ।
बज्जिका लोकसाहित्यमा गङगा–गण्डकी एवं दोन–सोमेश्वरका घाटिहरूको प्राकृतिक सौन्दर्य, सांस्कृतिक गरिमा, जनजाति एवं आभिजात्यहरूका सामाजीक जीवन तथा समसामयिक विचारधाराहरूको प्रत्यक्ष छाप परेको छ ।
यहाँका लोकगाथाहरू, लोकगीत, लोककथाहरू, लोकनाटक, लोकोक्तिहरू, बुझौवल, छकौवल आदि यसका ज्वलन्त उदाहरण हुन् । यसको व्यापकतालाई विचार गर्दा यसलाई जनपदीय जीवनको एलबम भन्दा कुनै अत्युक्ति हुनेछैन । लोरिकायन, बसावन, बखतौर, राजा सहलेस, दीनाभदरी, नटुवा दयाल सिंह, राजा बिजयमल, ढोलन सिंह, बाबा अमर सिंह, श्रवणकुमार, फेकूराम–दयाराम, मलङ्ग, मनसाराम, गनीनाथ, गोविन्दजी, कारिख बाबा आदिका गाथाहरू यसको प्रमाण हो । अतः जातीय जीवनमा लोकदेवताको रूपमा प्रतिष्ठित छन् । बखतौरको गाथामा वैदिक देवता सूर्य एवं अग्नि, पौराणिक देवता शृङ्गेश्वर शिव एवं जनपदीय देवीदेवता गहिल, कमला, वसावन आदिको महिमा गाइएको छ ।
बखतौरको झैं बसावन पनि यदुकुलका एक प्रख्यात वीर थिए । अलौकिक चमत्कार एवं प्रखर व्यक्तित्व भएका उनलाई लोकदेवताको पङ्क्तिमा प्रतिष्ठित गरियो ।
बसावन, कारिख, गनीनाथ, गोविन्द, मलङ्ग आदिका गाथाहरू मूलतः बज्जिकाका गाथाहरू हुन् । अन्यान्य गाथाहरू बज्जिकेतर भाषाहरूमा पनि प्रचलित छन् । साथै इतर भाषाका गाथाहरू पनि बज्जि भूमिमा प्रचलित छन् ।
बज्जिका लोकगीतको आकाश दोन–सोमेश्वरको हरीतिमा, गङ्गा, गंडकी, कमला, बागमती, बकैयाको प्रवाह, संस्कारगीतका लोकाचार, भक्ति एवं शृङ्गार गीतहरूका सुषमा, ऋतुगीतहरूका इन्द्रधनुषी सौन्दर्य, नृत्यगीतहरूका अभिनव आयाम, बाल गीतहरूका अनगढता (पूर्ण नभैसकेको) आदिबाट अनुरंजित छ । यी गीतहरूमा अभिव्यंजित अनगढ (अपरिपक्व) अनुभूतिहरूमा लोकजीवनलाई आन्दोलित पारिदिने अदभुत शक्ति छ । बज्जिका लोकगीतमा भक्ति, शृङ्गार र लोकाचारको तत्व प्रधान छ ।
यहाँको लोकायत–परम्परामा सप्तमातृकाको लोकोपासनाको रूप निम्नलिखित गीतांशमा प्रस्तुत छ —
बुढिया मइया चलले गङ्गा नहाय मइया धजवा लिहले फहराय,
नगरी के लोगवा माथा टेकले मइया, होउ न दयाल एहु बचवा ला ।
जगतारण मइया चलले गङ्गा नहाय, धजवा लिहले फहराय,
नगरी के लोगवा माथा टेकले मइया, होउ न सहाय एहि नगरी ला ।
यसैगरी क्रमशः फूलमत मइया, सीतला मइया, मालत मइया, जगदम्बा मइया एवं डीहवारी मइयाको स्तुतिहरू गाउने गरिन्छ ।
बज्जिका क्षेत्रको नदी मातृकाहरूमा प्रतिष्ठित वाया (वेगवती) आफ्नो सहादर बरैया (भैरब) सँग व्यथा पोख्छिन्— बैशाख जेष्ठको महिनामा जब नदीको किनार सुक्दछ तब किसान त्यसमा हलो जोतेर मलाई पीडा पुर्याउँछन् । जेठी गङ्गालाई भन्नु कि साउन–भदौ महिनामा उनीहरूका खेत–खलिहान म जलले बगाइदिन्छु—
भारी विपतिया हमरा परलइ बरइला भइया
मोरा पेट हरवा जोताय ।
आबे दहु आबे दहु साओन भदउआ
दहाये देव गिरहसवा के धान ।
बज्जिका क्षेत्रको एउटा अर्को पीडा यस्तो छ—
भगवा पहिर पहिर दिन काटल, सहली सब अपमान ।
रखली बेटवा बेटिया लङ्गटे घरनी के फटल पुरान ।।
बज्जिका लोकगीतमा जहाँ एकातिर चारित्रिक निष्ठा भएकी सती नारीहरूका उदात्त चित्र पाइन्छ, त्यहीँ अर्को तिर सामाजिक आदर्शको स्खलनको पनि दृश्य प्राप्त हुन्छ । पुरुष प्रधान समाजमा मर्यादाको निर्वाहको दायित्व नारिहरूलाई सुम्पिएर पुरुषहरूले आफ्नो लागि मुक्त पे्रमको आदर्श ग्रहण गरेकाछन् । थुप्रै शृङ्गारपरक बज्जिका लोकगीतहरूमा नारीहरूका दमित वासनाको ज्वार उठेको देखा पर्दछ । तिनमा रतिक्रियाको प्रतीकचित्र पनि अङ्कित भएको छ—
पातर कुँइया पताल बसे पनियाँ, मोर ननदिया हे ।
झमकि पानी भरबइ ,....................................।
बज्जिका क्षेत्रमा पौराणिक, ऐतिहासिक, नीतिपरक, मिथकीय, व्रत–अनुष्ठान, भूत–प्रेत, प्रेम आदि बिषयक लोककथाहरूको अक्षय भण्डार छ । यी कथाहरूबाट शौयर्, पराक्रम, शोषण, उत्पीडन, हितोपदेश, एकनिष्ठ पे्रम, कत्र्तब्यपरायणता, हास्य, व्यङ्ग, गृहस्थीको आदर्श, स्नेह–सहयोगको भावना आदि अभिव्यङ्जित छ । लोककथाले हामीलाई मनोरञ्जन गराउँदछ, अभिप्रमाणित शिक्षा दिन्छ, भटकावको स्थितिमा दिशा प्रदान गर्दछ एवं श्रुति परम्परालाई अघी बढाउँदछ । बज्जिका लोककथाहरूमा प्रणयको रुमानी वातावरण, शौतेनी ईष्र्या, मातृस्नेह, पतिभक्ति, पत्नीको प्रेम, सच्चा मित्रको निष्कलङ्क विचार, मानवीय कार्यकलापमा सहयोग गरेका पशुपक्षी, अदृश्य शक्तिहरू आदिको सटीक वर्णन देख्न पाइन्छ ।
बज्जिका लोककथाहरूमा शृङ्गार, करुणा, शान्त एवं हास्यरसको परिपाक छ । यसको विकासमा संस्कृत एवं जातक कथाहरूको योगदान महत्वपूर्ण छ । यी कथाहरूमा जनपदीय गरिमा, भाषाको स्वरूप तथा साहित्यिक सौन्दर्यको समाबेश भएको छ । बज्जिका लोकसाहित्य जति समृद्ध छ, त्यती नै अप्रकाशित पनि ।
२. बज्जिकाको लोकप्रिय लोकगीत—
लोकसाहित्यका बिद्याहरूमध्ये लोकगीत एक सर्वश्रेष्ठ एवं प्रमुख उर्बर विधा हो । यसमा प्राणी मात्रको हाँसो, आँसु, वियोग र विदा, जीवनगत अभाव र समस्या आदि हार्दिक उद्धेगहरू निश्छलतासाथ आफ्नै रूपमा उद्घोषित भएका हुन्छन् । यिनमा धर्मसंस्कृति, रीतिरिवाज र चलनचाँजो, जीवनमूल्य र महिमा, जीवनदर्शन र मान्यता आदिका कुरा घुलमेल हुन्छन् । आधुनिक कालको अपेक्षाकृत विकसित साहित्यधाराको परम्परागत स्रोत लोकसाहित्यमा छ ।
लोकगीतको क्षेत्र स्वयम् नै अत्यन्त व्यापक छ । मानवजीवनको कुनै एउटा महत्वपूर्ण मूलभावलाई सबलतम रूपमा व्यक्त गर्ने दुई पङ्क्तिमा पूर्ण स्यानो गीत तथा शैली एवम् भावको दृष्टि विकसित जीवनको विभिन्न पक्षलाई कवित्वपूर्ण, रसमय तथा आलङकारिक ढङ्गबाट स्पष्ट गर्ने लोकगाथाहरू मूलतः लोकगीत परिवारका नै हुन् ।
लोकगीतमा यसको रचयिता अथवा रचनाकालको प्रश्न महत्वपूर्ण हुँदैन, यसको महत्व त यसमा रहेको सहज रसोद्रेक शक्ति तथा सरल सौन्दर्यमा रहन्छ । यसमा एक व्यक्तिको अनुभूतिको अपेक्षा लोकहृदयको अनुभूति नै धेरै रहन्छ, व्यक्तिविशेषको भावनाको प्रतिनिधित्व नगरेर लोकगीत समुदायको भावनाको धेरै नै वास्तविक प्रतीत हुन्छ । बज्जिकाभाषीको२ गीत सांस्कृतिक दृष्टिले महत्वपूर्ण हुँदाहुँदै पनि कवित्वको दृष्टिले उल्लेखनीय, चर्चित छैन । गठन तथा शैलीको दृष्टिले बज्जिका लोकगीतलाई निम्नलिखित बर्गिकरण गर्न सकिन्छः
१. सामान्य गीत ।
२. नृत्य गीत ।
३. गीतकथा ।
४. लोकगाथा ।
उपर्युक्त वर्गीकरणमा गीतकथा र लोकगाथा दुबैमा गीततत्व बाहेक कथाको तत्व पनि रहन्छ, अतः यसको आफ्नै एउटा विशिष्ठ स्थान छ । बिषय, गायनको अवसर तथा गायकहरूको सामाजिक स्थितिको आधारमा बज्जिका लोकगीतको धेरै विस्तृत वर्गीकरण गर्न सकिन्छ ।
जस्तैः
१. सामान्य गीत— समय अथवा जातिको फरक नगरेर सर्वसाधारणद्वारा गाउने गर्दछ ।
२.विशेष अवसरमा गाँउने गीत— विशिष्ट ऋतु, उत्सव, पर्व आदिको गीत, विशेष नृत्यको गीत, संस्कारको गीत आदि ।
३.जाति विशेषको गीत— जसमा सर्वसाधारणको अधिकार नभएर एक जाति अथवा समूहको नै अधिकार हुने गर्दछ ।
४. धार्मिक गीत ।
५. स्वास्नीमान्छेको गीत ।
६. भीखारीको गीत ।
७. उपदेशात्मक गीत ।
८. लोकविश्वासमा आधारित गीत कथाहरू आदि ।
गीतहरूका उपयुक्त प्रकारहरूमा सामान्य गीतको श्रेणीमा पर्ने गीतहरूका सङ्ख्या नै सबभन्दा धेरै छ । अधिकांश नृत्य गीत नृत्यको मात्रै गीत हुँदैन, तिनीहरू साधारण अवसरमा पनि गाउने गरिन्छ । धार्मिक लोकगीतको पनि बज्जिका लोकसाहित्यमा अत्यन्त महत्वपूर्ण स्थान छ, किनभने यी लोकगीत आफ्नो प्रभावशाली तथा उपदेशपूर्ण वाणीले अनुप्राणित गर्दछ । स्वास्नीमानिसको गीतमा बच्चालाई सुताउने लोरि, जाँतो पिस्दा, ढिक्की कुटदा गाउने गरिएको गीत, साथै छोरीलाई विदा गर्दा खेरिको गीत महत्वपूर्ण हुने गर्दछ ।
सर्वप्रथम त लोकगीत लोकजीवनको कविता हो । लोकगीतमा लोकजीवनको सुख–दुःख, माधुर्य र करुणा, तथा आँसु र हाँसोको भावपूर्ण चित्रण रहन्छ । यसमा छन्दको अभाव भए पनि लय अवश्य हुन्छ । जन्म, विवाह, मरणसम्बन्धी गीत कहिलेकाही त काव्यको दृष्टिले पनि आकर्षक र मधुर लाग्दछ । छोरी बिदाईको गीत आफ्नो करुणा र मार्मिकताको लागि प्रसिद्ध छ । आमाको मरणमा छोराको हृदयमा उठने गरेको भावनाको वर्णन भएको एउटा करुण गीतको भाव यस्तो छ —
तिमीले मलाई दस महिना गर्भमा राख्यौ आमा
र प्रसव वेदनाको पिडा सह्यौ
आफूले कष्ट सहेर पनि मलाई जन्म दियौ
म जन्मदा निकै प्रसन्न भएकी थियौ,
र तिमीले मायाले मलाई आफ्नो छातीको
दूध चुसाएकी थियौ,
मेरी आमा तिमीलाई अब म कहाँ पाउँछु ?
आफ्नी मायालु आमालाई अब म कहाँ भेट्टाउँछु ?
प्रत्यक्ष एवं स्पष्ट भाषाशैलीको प्रयोग नगरेर, बज्जिका लोकगीतको थुप्रै ठाउँमा प्रतीकको प्रयोग अज्ञात रचनाकारहरूले गरेका छन् । लोकगीतमा सामाजिक एवं कौटुम्विक आदर्शको सुन्दर ब्याख्या पाइन्छ । समाजमा पुरातन युगदेखि चल्दै आएको परम्परा, लोकाचार तथा प्रथाहरू आदिको विश्लेषणमा पनि लोकगीतबाट महत्वपूर्ण सहायता प्राप्त हुन सक्दछ । इतिहासको अंध्यारो पृष्ठलाई पनि लोकगीत र लोककथाहरूबाट यदाकदा प्रकाशको केही किरण पाँउन सकिन्छ ।
३ बज्जिका संस्कार गीत
संस्कारगीतको कुरा गर्ने हो भने सबभन्दा पहिले जब आइमाइले गर्भ धारण गर्दछे, तब नौ महीनासम्म यहाँका आइमाईहरू गणेशको बन्दना गर्दछन्, यसले गर्दा तिनले सबै कष्ट दूर गरून । गर्भबती आइमाईको शरिरमा हुने विभिन्न लक्षणहरूको आधारमा बिभिन्न अनुमान लगाउने गरिन्छ— नन्द–आमाजु भतीजा आउने आशामा थुप्रै किसिमका शकुन (राम्रो कुरा) सोचेर खुसी हुन्छन् । यस प्रसङ्गमा यो सोहर गीत हेरौं—
पहिल महिना मनाइले, मंगल गाइले हे ।
ललना विधिनहरन गननायक से मंगल हे ।
पहिल महिना जब आएल मन हरखीत भेल हे ।
ललना अतई सुदिनमा त हमहु नहाएव हे ।
दोसर महिना जब आएल त रुप बदलल हे ।
ललना मँुह पीअराएत भूख मरी जाएत हे ।
तीसरा महिना जब आए ,चित फरिआएत हे ।
हुने बिरुवाको चिल्लो पातझै तीं लक्षण आफ्नो नवजात छोरामा देखिएपछि आमाले छोराको लागि अरू आइमाईहरूसँग आशीर्वाद माग्ने गीत यस्तो छ—
जे ही घर भेलई ललनमा, त उहो घर धन धन हे ।
रामा धन धन कुल परिवार, त धन धन लोग सब हे ।
बाँस के जरिआ मे उपजतो बाँस, तड अंडी के जरिआ अंडी जामल हे ।
रामा देव कोखिया जनमल देओता, त देस के काम आवे हे ।
होनहार बिरवा के चिकन पतिआ, चिकन भल लागल हे ।
रामा लरीका होए लछुमनमा, तई निरखि के मन खुशभेल हे ।
दहु दहु सखिआ आसीस, ललन मुँह चूमहू हे ।
होतई नेपाल माई सेवक, त हम्मर पूत हे ।
रामा इहो पूत जीए सओ साल, त इहे हम असीस देव हे ।
युगौयुगदेखिको बज्जिहरूको परम्परा रहेको छ, जब पनि घरमा कुनै शुभ कार्य हुन्छ, तब सवभन्दा पहिले आफ्ना इष्ट देवी–देवताहरूको आराधना गर्ने, यसो गर्दा कार्यमा कुनै किसिमको बाधा बिध्न आउँदैन भन्ने विश्वास छ । सबभन्दा पहिले आफ्नो कुलदेवीको गहबर (स्थान) मा गएर प्रार्थना गर्दछन् कि मेरो काम सजिलैसँग सम्पन्न होस् । सो प्रार्थना गीत यस्तो छ—
बन्नी माई के छोटकी गहबर हए ,कइसे निहुरी गोर लागू हे ।
सोना के झारी गंगाजल पानी मइआ के गोर धोआ दे ।
सोनमा के चउकी में रतन जरीहए , कइसे निहुरी गोर लागू हे ।
मइआ के लाके बइठा दे , कइसे निहरी गोर लागू हे ।।
दुलाहा जब विवाहका लागि आँगनमा आउँदछ, तब दुलहीकी आमाले दुलाहाको गाला सेक्दै गीत गाउँछिन्—
तनीगो के अप्पन सासु बरीगो दमाद हे ।
तनिएक निहुरु बाबू, सेकब दून्नू गाल हे ।
तनीगो के अप्पन चाची बरी गो दमाद हे ।
तनिएक निहुरु बाबू, सेकब दून्नू गाल हे ।।
विवाहभन्दा पहिले केटीको नहछू (नङ काट्ने) बिधि गर्नुपर्छ । यस विधिमा दुलाहाको हजामले र दुलहीको हजामिनले नङ काट्दछन् । त्यस समय नेग (इनाम) मागिन्छ, आइमाईहरूले यस्तो गीत गाउँछन्—
आजु सिआ जी के होखले सगाई ।
अँगना में खरा बाभल माागले बधाई ।
शादी कराई नेग दीउ सिआ माई ।
अँगना में खरा नाई माँगले बधाई ।।
विवाहभन्दा अघि एउटा विधि हुन्छ— केटा छेक्ने । यस अवसरमा आइमाईहरू यो गीत गाउँछन्—
केकरा भरोसे बाबा हार अएल
बोल छेक लेलओ नगर तोहार ।
पनमा ओक्कर हम खइली हे बेटी,
पूmल लेके कलिअई सिंगार ।
तोहरे भरोसे बेटी बोली हार अइली,
छेक लेलकई नगर हमार ।
फेरी दहू आहो बाबा ओक्कर पनमा
छितरा दहू ओकर फूल ।
हम नहीं जएबो जोगिआ घर हो बाबा,
जोगिआ है तपसी भिखार ।।
विवाहको मुख्य विधि हो सिन्दूरदान । यसमा दुलहाले दुलहीको सिँउदोमा सिन्दूर हाल्दछ, यो विधि भएपछि विवाह सम्पन्न भएको मानिन्छ । चारैतिर खुसीको लहर चल्न थाल्दछ । यस विधिको क्रममा आइमाईहरू मङ्गलगान गाँउन थाल्दछन्—
सेन्दुर देने वाले सेनुर के लाज रखी ह ।
बावू के देल थाती अपने ही पास रखी ह ।
सेनुर के लाज रखी ह ।
चाचा के देल थाती अपने ही पास रखी ह ।
सेनुर के लाज रखी ह ।
छोरीको विवाहपछि विदाईको समयमा जुन गीत गाइन्छ, त्यसलाई समदओन भनिन्छ । यो गीत गाउँदागाउँदै सबै जना रुन थाल्दछन्—
बरा रे जतन से सिया जी के पोसली,
से हो रघुवर लेले जाए,
रोएथीन सिआ आओर सिआ माए,
रोएथीन नगरी के लोग ।
डोलीमा चढाएर जब दुलही विदागरिन्छ, त्यस समयमा आइमाईहरू विदाइ गीत गाउँछन्—
डोलिए चढीए धीआ गेल ससुरिआ,
अँखिआ से बरसले लोर हे ।
छुट गेलई बाबा घर, भरल दुअरिआ,
छुटलई माई के अँचरा के कोर हे ।
जब दुलही डोलीमा चढेर ससुराली जान थाल्छ, त्यस बेला सबैको आँखा आँसुले भरिन्छ, आफ्नो जन्मघर छाड्दा उसलाई पीडा हुन्छ र आमाको आँचलमा सुतेको सम्झनाले सताउँछ । गम्छामा मुख लुकाएर बुवा रुन थाल्दछन्, आँचलले मुख छोपेर आमा रुन थाल्छिन् र भाई आँगनमा डाँको छोडेर रुन थाल्छ । दुलही रुँदारुदै कहिलेकाहीँ बेहाश पनि हुन्छे । अनि भन्दछे— केहीबेर डोली अडाउ, म अघाउन्जेल आफ्नो माइतीगाँउ हेरूँ । आजबाट मेरो यो गाँउ छुट्दै छ ।
बज्जिका क्षेत्रमा केटा र केटीको विवाहमा आइमाईहरूले बिधी पिच्छे गीत गाँउने गर्छन् । तीमध्ये केही मात्र यहाँ प्रस्तुत गरिएको हो ।
४ लोकजीवनमा जोङ्ग–टोङ्ग (टोटका, जादु)
अदृश्य र अज्ञानताको बारेमा थाहा पाउने जिज्ञासा मानिसमा धेरै पहिलेदेखिको हो । जुन शक्ति सदैव नै अदृश्य रहने गर्दछ, त्यसप्रति फरकफरक किसिमका कल्पनाहरू गर्न र मान्यताहरू विकसित गर्न मानबका लागि सर्वथा स्वाभाविक छ । समाजका रचनात्मक अभिव्यक्तिहरू, विशेष गरेर त्यसको साहित्य र कला, सामाजिक गतिविधि र क्रियाकलाप आदिमा धार्मिक विश्वासको प्रत्यक्ष या अप्रत्यक्ष छाप अवश्य रहेकै हुन्छ । धार्मिक क्रियाहरूका अनुभूतिद्धारा प्रकट भएको विश्वास र मान्यताहरू कुनै पनि दुई भिन्न दिशाहरूमा विकसित हुन सक्दछ । जब यी अतिमानवीय अदृश्य शक्तिहरूलाई वशीभूत र नियन्त्रित गर्ने चेष्टा गर्ने गरिन्छ, तब मानबको हृदयमा यो भावना रहन्छ कि ऊ यी शक्तिहरूमा विजय प्राप्त गर्न सक्दछ । कुनै पनि जादु–क्रियामा हामी तीन तत्वहरू समावेश भएको पाउँदछौं—
(१) कतिपय शब्द उच्चारित या अभिमन्त्रित शब्द साधारणभन्दा केही फरक हुन्छ र सामान्यतः गोप्य राख्ने गरिन्छ । कहीलेकाहीँ जादु सामाजिक रूपले मान्य हुने गर्छ, तब त्यस समाजका सबै सदस्यले गोप्य राख्ने गरिएका शब्दसँग परिचित हुने गर्छ, तर यस स्थितिमा पनि ती शब्द त्यस्ता मानिसहरूबाट गोप्य राख्ने गरिन्छ जो उनीहरूका संस्कृतिका सदस्य होइनन् ।
(२) शब्दउच्चारणका साथमा कतिपय विशिष्ट क्रियाहरु ः मन्त्रले नतिजाको रूप प्राप्त गर्नको लागि प्रायश ः उच्चारणको साथमा कतिपय क्रियाहरू गर्न पनि आवश्यक हुने गर्छ । यस्ता क्रियाहरूले मन्त्रोच्चारलाई नाटकीय तत्व दान गर्दछ ।
(३) जादुगर्ने व्यक्तिको विशेष स्थिति ः जुन दिन जादुको क्रिया गरिने हुन्छ, त्यस दिन सधैको सामान्य जीवनभन्दा पृथक प्रकारको गतिविधी गर्नु आवश्यक ठानिन्छ । यस अवधिमा कतिपय खाद्य तथा व्यवहार निषिद्ध गरिएको हुन्छ ।
यी तीन ओटैमा सबभन्दा महत्वपूर्ण मन्त्र नै हुन्छ, अन्य क्रिया र व्यवहार त्योसँग जोडिएको मात्र हो । जादु–धर्मको क्षेत्रमा फ्रेजरको उल्लेख आवश्यक छ ।
गोल्डन बाउ नामको पुस्तकमा फ्रेजरले जादुको विश्लेषण गर्दै दुई भागमा विभाजित गरेका छन्—
(१) समानको समान प्रभाव ।
(२) सम्पर्कको प्रभाव ।
पहिलो किसिमको नियम यस धारणामा आधारित छ कि जब एक किसिमको जादु–क्रिया गरिन्छ तब लक्ष्यमा त्यसको परिणाम पनि समानधर्मी हुने गर्छ । यसलाई नै अनुक्रमणात्मक जादुभन्ने गरिन्छ । यसको विपरीत अर्को किसिमको जादुमा समानताको स्थानमा सम्पर्कको महत्व धेरै मान्ने गरिन्छ । जादु क्रियाहरूको लक्ष्य र उद्देश्य सधै हानीपुर्याउन मात्र हँुदैन ।
बज्जिकाको लोकसंस्कृतिमा जोग–टोङ्ग (टोटका, जादु) को आफ्नै एउटा अलग महत्व छ । यो बज्जिहरूका जीवनमा पर्याप्त मात्रामा घुल–मिल गरेको छ । हरेक ठाँउमा आफ्नोआफ्नो सस्कृतिअनुसार जोग–टोङ्ग गर्ने गरिन्छ । यस्तो कार्य अनपढ, गँवार, अशिक्षित आइमाईहरूमा मात्र होइन, बरू पढेलेखेका मानिसहरू पनि योदेखि टाढा छैनन् । प्रत्येक बर्ष दसैंको समयमा केटाकेटीहरूलाई आमा–वुवा, बाजे–बजैले कालो टीका लगाईदिन्छन्, घाँटीमा हीङ्, लसुन, सरस्युँ इत्यादि कालो कपडामा बाँधेर कम्मर अथवा हातमा बाधि दिन्छन् । यस्तो बाँधेमा बालकलाई भूत–प्रेत अथवा नोक्सान पु¥याउने जादुको प्रभाव पर्दैन भन्ने विश्वास गरिन्छ । डायनलाई तन्त्रमन्त्र गर्न मात्र आउँछ तर ओझालाई दुबै आउँछ, लगाँउन पनि र छुटाउन पनि । फलानो ओझाले झारफुक गरेर बालकलाई ठीकपारी दिएको हुँदा आमाको दूध चुस्न थाल्यो, गाँउघरमा प्रायशः यस्तो सुन्न पाइन्छ ।
शिशु जन्मेको समयमा बज्जिका समाजमा सउरी घर (सुत्केरी घर) को ढोकामा मानिसहरू टोटका (जादु) गर्दछन्— जब कुनै बालक कसैको घरमा जन्मन्छ, तब त्यस घरको ढोकामा दाउरा या गुइँठा सल्काएर राख्ने गरिन्छ, त्यहाँ फलामले वनेको फहसुल राखिन्छ, चौवीसै घण्टा आगो राख्ने गरिन्छ । यस्तो गर्दा आमा र बालक दुबैलाई भूतप्रेतको डर हँुदैन भन्ने विश्वास गरिन्छ ।
बालक जब पटकपटक डराउँछ अथवा झस्किन्छ, तब उसको टांउकोतल बिछ्यौंनामा चक्कु अथवा फलामको हतियार राखिदिइन्छ, यसो गर्दा बालक झस्ँिकदैन, डराउँदैन भनेर विश्वास गरिन्छ । आमाले जब आफ्नो बच्चालाई तेल लगाइदिन्छिन्, तब बालकको आँखा, पैतला, निधार आदिमा गाजल लगाईदिन्छिन् । यसो गर्दा बच्चालाई कुनै किसीमको खराब नजर लाग्दैन भनिन्छ । कहिलेकाहि बालक धेरै रुन्छ, तब मङ्गलबार या आइतवारको दिन बालकको आमाले ५ वटा रातो खुर्सानी बालकको चारैतिर घुमाएर आगोमा डढाउँछिन्, यसो गर्दा बालकलाई सन्चो हुन्छ भन्ने विश्वास छ ।
बालकलाई साथमा लिएर माइती जाँदा या घर फर्कदा चौबाटोमा ५ वटा माटोको डल्ला पछाडिपट्टि फाल्नाले कसैको दुष्ट नजर लाग्दैन भन्ने मान्यता छ । नयाँ घर बनाउँदाखेिर मानिसहरू बजरङ्गबलीको पूजा गर्दछन् र एउटा बाँसको टुप्पामा थोत्रिएको कुचो, पुरानो जुत्ता र काम नलाग्ने चाल्नो बाँधेर झुण्याइदिनाले कसैको खराब नजर लाग्दैन भन्ने विश्वास गरिन्छ । वर–वधूको विवाहको दिन जब तय हुन्छ, तब लग्नको दिनदेखि नै वर–वधूको विवाहको हातमा एउटा चक्कुमा सुपारी राखेर हातमा दिइन्छ, यसले कुनै भूतप्रेत या दुष्ट आत्माको नजर नलागोस् । जन्ति जाँदाखेरी वरको गम्छाको धागो, राई र ज्वानो आगोमा हालिन्छ र त्यसमाथी एउटा खपडा राखेर लात्तले फोडिन्छ, तब मात्र वर विवाहको लागि प्रस्थान गर्दछ ।
जब कुनै व्यक्ति मर्दछ र मानिस जब लासलाई श्मशानघाट लैजान्छन्,त्यस समय विशेष गरेर गर्भवती महिलाको मृत्युको समयमा बालुवा र सरसौं एकसाथ मिसाएर घरदेखि श्मशानघाटसम्मको बाटोमा त्यो छर्दै जान्छन्, यसो गर्दा मृतात्मा फर्केर घरमा आउँदैन भन्ने विश्वास गरिन्छ । महिलाको मृत्यु हुँदा उसको पाइतालामा सुई रोपिदीइन्छ, यसो गर्दा चुडैलको रूप धारण गरेर फेरि घरमा प्रवेश गर्न नसकोस् । आज पनि बज्जिका समाजमा थुप्रै किसिमका जोग टोङ्ग (टोटका, जादु) ले लोकजीवनमा आफ्नो स्थान कायम राखेकै छ । यसको अस्तित्व वचाईराख्नमा ग्रामीण महिलाहरूको बिशेष योगदान छ ।
५ भक्तिसित सम्बन्धि गीतहरू—
प्राचीन बज्जि गणतन्त्र थुप्रै धार्मिक आन्दोलनको केन्द्र थियो । बौद्ध, जैन, सिद्धनाथ, कबीर, सतरामी, सरभङ्ग, खालसा, शिवनारायणी, मलूकदाती आदि पंथ एवं सम्प्रदाय अतिरिक्त यहाँ भक्तिको लोकायत परम्परा पनि विकसित भयो । यो भूभाग बस्तुत, राम र कृष्णको भक्तिको क्षेत्र हो, जसमा रामभक्तिको स्थान सर्वोपरि छ । यहाँका भक्त कविहरूले रामको सगुण एवं निर्गुण दुवै किसिमले उपासना गरेका छन् । यसै क्रममा सगुण निर्गुन भक्तिधाराहरूमा एकसाथ आहवान गर्ने निर्गुनवादी सन्तकवि मगनी रामको स्मरण आवश्यक छ, जुन निर्गुन रामको उपासक हो, यद्यपि उनले केशवदाससँग राधावल्लभ मन्त्रको दीक्षा लिएका थिए—
राधाबल्लभ मंत्र जप हरिबल्लभ फल पाव ।
मुक्ति रुप हरिबल्लभ केशों मंगनीराम लखाव ।।
र उनी मलुक मतका अनुयायी थिए— यस्तो उनले स्वयम् स्वीकार गरेका छन्—
संत जानिये ताहि जो अन्त वतावै राम ।
मंगनीराम मलूक मत, नाम अनन्त प्रनाम ।।
संतकवि मगनीराम न त कबीरझैँ रामसेवक थिए र न त तुलसीभैंm रामदास । अतः रामसिन्धुको प्रतिपाद्य रामको लीलागान नभएर ज्योतिस्वरुप अद्धैत रामको उपासना हो । रामसिन्धु र साखीको अबलोकन गर्दा मगनीराम उच्चकोटिका रससिद्ध कवि मात्र होइन बरु सङ्गीतशास्त्रका प्रकाण्ड ज्ञाता पनि थिए ।
सतरामी पन्थ बुझ्नका लागि कबीरको बीजकभैंm बुनियाद दासको चानकको अध्ययन आवश्यक छ । राम जग उत्पत्ति संत बुनियाद दासको एकमात्र प्रकाशित काव्यकृति हो । उनले आफ्ना रामको निर्गुण गाथाको गायन महल रमाएन, कुञ्ज रमाएन, ओनमुल रमाएन, धीर रमाएन, रामसरन रमाएन, रामओत रमाएन आदिमा विस्तारका साथ गरेकाछन् । यी पोथी (पुस्तक) हरूको पूजा गुरुग्रंथको रूपमा सतरामी पन्थका मठहरूमा गर्ने गरिन्छ । यी सधुक्कडी भाषामा ब्रज, अवधी, भोजपुरी, मैथिली एवम् बज्जिका मिश्रित छ ।
तुलसीको रामायण (रामचरित मानस) को व्यापक प्रभावले निर्गुणियाँ सन्तकविहरूलाई पनि रामायण रचना गर्ने प्रेरणा दियो । सन्त कबीरको रमैनी, मगनीरामको रामसिन्धु (राम सागर पोथी), बुनियाद दासको महल रमाएन आदि यसको प्रमाण हो । उहाँले दोहा, चौपाई, भूmलना, बारहमासा, होरी, लावनी, चैतावर, अशलोक आदि प्रचलित अप्रचलित छन्द तथा क्षेत्रीय लिपि कैथीको प्रयोग गरेका छन् ।
सन्तकवि मुरलीधर तिवारीको परमज्ञान साधना तथा प्रभाव नेपालदेखि लिएर गङ्गाको उत्तरी किनारसम्म पाइन्छ । रामभक्त कवि मुरलीधर तिवारी तुलसीभैंm सगुण–निर्गुणमा अभेद मान्ने समन्वयवादी सन्तकवी थिए । यिनको व्यक्तित्व एवं कृतित्व सूर, तुलसी र कबीरबाट प्रभावित छ । यिनले बज्जिका भक्तिकाव्यलाई एउटा समन्वयवादी आयाम दिएका छन् ।
बज्जिकाको सन्त काव्यपरम्परामा सरभंगिया सन्तहरूको योगदान उल्लेखनीय छ । यिनीहरूका साधनाभूमी नेपालको बारा जिल्लादेखि लिएर भारतको आदापुर, रुपौलिया झरोखा, माधोपुर, बगाहासम्म रहेको छ । टेकमन राम, भिनक राम, मङ्गरू राम, जोगेसर राम, रामस्वरुप दास, योगेश्वरानन्द आदि उल्लेखनीय कवि हुन् ।
सरभंगिया सन्तकवि शून्य गगनमा अनहद नाद सुन्न र अमरपुरमा निर्गुण रामको साक्षात् गर्न धेरै प्रिय मान्दछन् । योगेश्वरानन्द सरभङ्ग सन्तस्वामी अलखानन्दका शिष्य थिए । यिनका स्वरूपगीता, सरूपप्रकाश, विधानसार, भूकम्परहस्य, भवानीसम्वाद, विष्णुस्तुति आदि चर्चित कृतिहरू हुन् ।
कृष्णभक्ति भावनाको अन्तर्गत दीनहीन सुदामाप्रति कृष्णको सखाभाव भक्तकविहरूका आकर्षक विषय थियो । सूरदासका प्रायः समकालीन बज्जिकाको हलधर दास सूरकविले सुदामा चरित्र लेख्ने प्रेरणा आफ्ना इष्ट श्रीकृष्ण बाट प्राप्त गरेका थिए—
औचक ही प्रभु सपन में टेरि सुनायौ बेनु ।
जागु जागु रे हलधरा, चन्द्रचूड पद रेनु ।।
प्रस्तुत पङ्क्तिमा तत्सम र तद्भव प्रयोगको अतिरिक्त ब्रजेतर प्रयोगमा बज्जिकाको प्रयोग सर्वाधिक छ, कविको यो मातृभाषा हो । यो बस्तुतः भक्तको दीनता र भगवान्को कृपालुता अर्थात् भक्तवत्सलताको काव्य हो, आफ्नो काव्यपरम्परामा यो विशिष्ट छ । बज्जिका क्षेत्रमा रामचरितमानसपछि सर्वाधिक लोकप्रियता यसै काव्यकृतिले पाएको छ । भक्तकवि सुकेश्वर प्रसादले आफ्ना आराध्य कृष्णलाई हकारेका पनि छन्—
दयानाथ नाम त तोहार वरा निमन हय,
दया देखलावे में फेनू की आनाकानी हय ।
होके तू सुजान कृष्ण हमारा सतबइत हय,
हमर त नादानी हय आ तोहरा नादानी हय ।।
यसैगरी बज्जिकामा राम, कृष्ण र देवीभक्तिको अतिरिक्त लोकदेवभक्तिको धाराहरू पनि प्रवाहित छ । अन्ततः यो निसङ्कोच भन्न सकिन्छ कि केही अपवादहरू छाडेर बज्जिकाक्षेत्रमा भक्तिसाहित्य बज्जिकाको मात्र होइन, भोजपुरी र मैथिलीको पनि भक्ति साहित्य हो । यसका भाषा मुख्यतः सधुक्कडी छ, यसले बज्जिकाको भाषायी स्वरूपको क्रमिक विकासलाई रेखाङ्कित गर्दछ ।
६. निष्कर्ष
भारत बिहारका केही जिल्लाको प्रमुख भाषाको रुपमा रहेको बज्जिका नेपालका पनि केही जिल्लाहरूमा समेत लोकजीवनको मुख्य भाषाको रुपमा रहेको छ । बज्जिकाको सम्बन्ध प्राचीन वैशालीसित रहेकबो छ । प्राचीन बज्जी गणराज्यको राजधानी बैशाली गङ्गाको उत्तरी किनारमा रहेको थियो । ‘भगवान बुभ ने जिस पालि भाषा में उपदेश दिया वश बज्जिका से ही विकसित हुई है ।’४ बज्जी गणराज्य पतन भइसकेपछि बज्जी र लिच्छविहरू बसाईसरी नेपाल प्रवेश गरे ।५ तिनै बज्जिहरूले अपनाएका, टिकाइराखेको प्राचीन संस्कार लोकसंस्कृतिको रुपमा यहाँ चर्चा गरेको हुँ ।
सन्दर्भ सामग्री
अधिकारी, वासुदेव, काठमाडौँः ‘शब्द संयोजन’ का अङ्कहरू ।
उपाध्याय, प्रा.डा.श्रीरामप्रसाद (तेस्रो संस्करण २०६१) नेपालको प्राचीन तथा मध्यकालीन इतिहास, काठमाडौँः रत्न पुस्तक भण्डार ।
गिरी, शीतल (२०६३), प्रसङगवस, गौरः रश्मि प्रकाशन समूह ।
गिरी, शीतल (२०७०), बज्जि र बज्जिका, काठमाडौँः नेपाल प्रज्ञा प्रतिष्ठान ।
तिवारी, डा.सियाराम (इ.सं.१९६४) पटना (भारत)ः बज्जिका भाषा और साहित्य ।
थापा, धर्मराज र हंसपुरे सुवेदी (२०४१), नेपाली लोकसाहित्यको विवेचना, काठमाडौँः पाठ्यक्रम विकास केन्द्र, त्रिभुवन विश्वविद्यँलय ।
पौडेल, रामाराजा (२०३९), हाम्रा जनजीवनका पक्षहरू, काठमाडौँः सूचना विभाग ।