काठमाडौँ । सन्त शिरोमणी ब्रह्मलीन सन्त स्वामी रामसुखदासजी महाराजको अन्तिम समयसम्म सँगै रहेका सन्त श्री हरिकृष्ण दासजी महाराजको शुक्रबारदेखि अर्को शनिबार पुस १९ गतेसम्म विराटनगरमा जीवन उपयोगी सत्संग समारोह हुन लागेको छ ।
त्यस्तै सोही क्रममा काठमाडौँमा पुस ११ र १२ गते गीता प्रेस नेपालको संयोजनमा दुई दिन माहेश्वरी भवन नक्सालमा जीवन उपयोगी सत्संग एवं प्रार्थना कार्यक्रम हुने भएको छ ।
दुई दिने कार्यक्रमको आयोजना गीता प्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपाल (गीताप्रेस नेपाल) ले गर्न लागेको हो ।
शुक्रबार बिहान ५ देखि ६ बजेसम्म नित्यस्तुति प्रार्थना, दिउँसो २.३० बजेदेखि भजन संकीर्तन गीता पाठ र दिउँसो ३ देखि ५ बजेसम्म सत्संगको कार्यक्रम हुनेछ ।
शनिबार बिहान ५ देखि ६ बजेसम्म नित्यस्तुति प्रार्थना, बिहान ११ बजेदेखि भजन, संकीर्तन गीता पाठ र बिहान साढे ११ देखि दिउँसो साढे १ बजेसम्म सत्संगको कार्यक्रम हुने छ ।
विशेष रुपमा सन्त श्री हरिकृष्ण दासजी महाराजको समुपस्थितिमा शुक्रबार ११ गते कागेश्वरी मनोहरामा अवस्थित पाणिनि स्कूलमा विद्यार्थीहरूसँग विहान ९ बजे सत्संग एवं गीता पाठ र शिक्षक एवं विद्यार्थीलाई निःशुल्क सरल गीता प्रदान गरिने कार्यक्रम रहेकोसमेत जनाइएको छ ।