नेपालको चितवन निकुन्ज नजिक जन्मियौ । भर्खर छ वर्ष र सात वर्षमात्र भएछौ । आज तिमी कामदारको रूपमा नभइ परिबन्धनमा पारिएर प्रतिकार बिना नै कतार जान बाध्य भयौ।
अब उप्रान्त तिमीहरू नेपाली माटोको बास्नामा रमाउन पाउने छैनौ। तिमीलाई फेरि नेपाल आउन मन लागे पनि आउन पाउने छैनौ। तिमी अन्जान अनि ज्ञानी छौ ।
तिमी नेपालमा नै हुने अवस्थामा भने तिम्रा बडेमानको कोमल शरीरमाथि कम्तीमा ६ जना भुस्तिघ्रेहरूलाई चढाएर सकिनसकी आफ्नो दानापानीको व्यवस्था गर्नुपर्ने बाध्यता आई लाग्थ्यो ।
त्यस मानेमा भने बिना परिश्रम पेटभरी खान पाउने अवसरका साथै हाम्रै लाखौँ दाजुभाइले कुल्ली भएर निर्माण गरिदिएका संरचना हेर्ने अवसर भने मिल्नेछ।
तर पनि आफू जन्मिएको माटोमा अब कहिल्यै फर्कन नपाइने तडपाई भने तिमीलाई हुने छ। तिमीले बोल्न सक्दैनौ । बडेमानको शरीर जहाजमा कोचिएर कतार जाँदै गर्दा तिमी जन्मिएको माटो र मलाई भने धेरै उकुसमुकुस भएर मुटु दुःखेको छ।
हिन्दू धर्ममा भगवानको स्वरूपका रुपमा पुजिने तपाईंहरूलाई कहिले भारी बोकाइयो । कहिले अन्नबाली खान आएको निहुँमा लखेटियो । आज भने कहिल्यै नफर्कने गरेर सात समुद्र कटाइयो ।
माफ गर्नुस् गणश भगवानका रूपहरु हामी अधर्मी यस्तै हौँ । सबै जनावरहरूलाई थाहा नहुन सक्छ । यति चाहिँ थाहा पाए हुन्छ हामी कहिल्यै सुध्रने वाला हैनौँ। माफ गर्नुस् ।
तिमीलाई पनि थाहै होला तिमी जन्मिएको माटोमा जनावरहरूले भोगेको पीडाको बारेमा थोरै मात्र लेखिन्छ । तर जनावरको अधिकार कहिल्यै लागू भएन र अब उप्रान्त पनि यस्तै नै हो।
झोलुङगे पुलबाट भारी बोकेका गधाहरु खोलामा खसेर तड्पिएर मृत्यु भएको बारेमा पनि तिमीलाई थाहा भएन भन्ने लाग्छ। आफ्नो खुशीका लागि केही महिना, वर्षसम्म घरमा पालेका धेरै कुकुरहरू आज काठमाडौँको सडकमा लखेटिएका छन् ।
कसैले एक पोका बिस्कुट दिन्छन् कि भन्ने आशामा अत्यन्त कोमल आँखाले खानाको माग गरिरहेका छन् । तिनै कुकुरहरू वर्षमा एक दिन तिहारमा पुजिने नाटकको पात्र हुन्। सडकमा धेरै घरपालुवा कुकुरहरू जम्मा भएर आपसमा झगडा गर्नुपर्ने बाध्यता बनाएर हामीले तमासामात्र हेर्ने गरेको पनि तिमीलाई थाहा नहुन सक्छ।
सबै जनावरहरूलाई थाहा नहुन सक्छ, यति चाहिँ थाहा पाए हुन्छ, हामी कहिल्यै सुध्रने वाला हैनौँ । माफ गर्नुस् ।
तराईबाट दूध दिन छोडेका, जोत्न नसक्ने अवस्था भएका धेरै भैँसी र राँगहरूले पनि यात्राको क्रममा अत्यन्त कष्ट भोग्नु परेको बारेमा धेरैलाई थाहा छैन ।
यही माटोमा जन्मिएकाले मात्र अत्यन्त पीडा भोग्नु परेको हो भन्ने मेरो बुझाई हो । यो माटोमा जन्मिएका मानिसहरूको पनि जातजातिको नाममा भएको विभेदको कारण कम्ती दुःखद छैन धेरैको जिन्दगी ।
यहाँ चेतनशील भनिएका, बोल्न सक्ने, आफ्नो दुखः पोख्न सक्ने मानिसलाई त विभिन्न वर्गमा विभाजन गर्न सक्ने क्षमतावानहरू जन्मिएको माटो हो।
तिमीलाई थाहा हुनुपर्छ, हामी कहिल्यै पनि सुध्रने खालका हैनौँ । सबै जनावरहरूलाई थाहा नहुन सक्छ, यति चाहिँ थाहा पाए हुन्छ, हामी कहिल्यै सुध्रने वाला हैनौँ। माफ गर्नुस्।