सुरुङमार्गको स्थलगत अनुगमनमा पूर्वाधार विकास समिति
नागढुङ्गा सुरुङमार्ग साउनको दोस्रो हप्ताभित्र सञ्चालन गर्न संसदीय समितिको निर्देशन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २१ सोमबार
289
Shares
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले नागढुङ्गा सुरुङमार्ग आगामी साउनको दोस्रो हप्ताबाट सञ्चालनमा ल्याउन निर्देशन दिएको छ। सोमबार सुरुङमार्गको स्थलगत अनुगमन गर्दै समिति सभापति आशिष गजुरेलले कुनै पनि बहानामा अब सञ्चालनमा ढिलाइ गर्न नहुने बताए।
उनले पूर्वनिर्धारित समयमै परियोजना सञ्चालन हुन नसकेकोमा असन्तुष्टि जनाउँदै आयोजनाले सुरुमा २०८२ माघको लक्ष्य राखे पनि फेरि साउनको दोस्रो हप्तामा भाका सारेर ६ महिना ढिलो गरेको उल्लेख गरे। आफैँ सीमा तोक्ने र आफैँ ढिला गर्ने प्रवृत्ति स्वीकार्य नहुने तर्क गर्दै उनले परियोजनाको भौतिक पूर्वाधार निर्माण सम्पन्न भइसकेको र सञ्चालनका लागि निजी क्षेत्र, कार्यविधि तथा दररेट समेत तय भइसकेकाले अब ढिलाइको कुनै औचित्य नरहेको बताए।
सभापति गजुरेलले आयोजनाको सेवा सञ्चालनको तयारीमा देखिएको कमजोरीप्रति चासो राख्दै समयमै निजी क्षेत्र छनोट गर्न नसक्दा तयार भइसकेको परियोजना पनि सञ्चालनमा आउन नसकेको र यसले राज्यलाई ठूलो आर्थिक नोक्सानी पुर्याएको दाबी गरे।
यदि २०२६ जनवरी १ मा सञ्चालन गर्ने लक्ष्य थियो भने निजी क्षेत्र छनोट प्रक्रिया एक वर्षअघि नै सुरु हुनुपर्नेमा त्यसो हुन नसक्नुलाई उनले तयारीको फितलोपनका रूपमा अर्थ्याए। विगतका कमजोरीलाई पाठका रूपमा लिँदै आगामी दिनमा योजना व्यवस्थापन र कार्यान्वयनमा सुधार गर्न उनले आयोजनालाई निर्देशन दिए। अनुगमनका क्रममा समितिको टोलीलाई नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालले परियोजनाको हालको अवस्था र प्रगतिका बारेमा जानकारी गराएका थिए।