उपभोक्ता हित समितिको पहिलो बैठक: कार्यसम्पादन समीक्षा र भावी दिशामा छलफल
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २१ सोमबार
268
Shares
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले आफ्नो विगतको कार्यसम्पादन समीक्षा गर्दै आगामी कार्यदिशाबारे छलफल गरेको छ। सोमबार सिंहदरबारमा बसेको बैठकले समितिको कार्यसम्पादनको समीक्षाका साथै आगामी कार्ययोजनाका विषयमा विमर्श गरेको समिति सभापति रहबर अन्सारीले बताए।
उनको सभापतित्वमा बसेको यो पहिलो बैठकमा समितिका पूर्वसभापति अब्दुल खानलाई समेत आमन्त्रण गरी उहाँको अनुभव र सुझाव लिने काम भएको थियो।
बैठकमा समिति सदस्यहरूले विगतमा गरिएका निर्णयहरूको कार्यान्वयनको अवस्था, अनुगमनको प्रभावकारिता र उपभोक्ता हितसँग सम्बन्धित विविध मुद्दाहरूका बारेमा चासो र जिज्ञासा राखेका थिए। छलफलका क्रममा समितिका सचिवले एउटा प्रस्तुतीकरण दिँदै सदस्यहरूलाई समितिको कार्यक्षेत्र र अधिकारका बारेमा विस्तृत जानकारी गराएका थिए।
सभापति अन्सारीका अनुसार आगामी दिनमा समितिका बैठकहरूले गर्ने कार्यहरूका विषयमा रहेको अन्योल र अस्पष्टता हटाउन यो बैठक प्रभावकारी सावित भएको छ। पहिलो बैठक भएकाले मुख्यतया विगतको कार्यसम्पादनको मूल्याङ्कन गर्ने र आगामी कार्ययोजनालाई स्पष्ट पार्ने उद्देश्यमा नै छलफल केन्द्रित रहेको उनले उल्लेख गरे।