विद्यार्थी संगठन र स्ववियु खारेजीको निर्णय अधिनायकवादी: पूर्णबहादुर खड्का
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ९ बुधबार
653
Shares
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विश्वविद्यालयहरूमा विद्यार्थी संगठन र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेज गर्ने सरकारको निर्णयप्रति कडा आपत्ति जनाएका छन्। बुधबार एक विज्ञप्ति जारी गर्दै उनले सरकारको यो कदम लोकतान्त्रिक मूल्य–मान्यता विपरीत र अधिनायकवादी प्रवृत्तिको पराकाष्ठा भएको बताए।
नेता खड्काले नेपालको राजनीतिक रूपान्तरण र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा विद्यार्थी आन्दोलनको योगदान अविस्मरणीय रहेको उल्लेख गरेका छन्। निर्दलीय पञ्चायती व्यवस्थाको कठिन समयमा समेत राजनीतिक दलहरू प्रतिबन्धित हुँदा विद्यार्थी संगठनहरूले नै लोकतन्त्रका लागि जनचेतना फैलाउने मुख्य भूमिका निर्वाह गरेको उनले स्मरण गराए।
उनले वि.सं. २०३६/३७ को विद्यार्थी आन्दोलन, २०४६ को जनआन्दोलन र २०६२/६३ को ऐतिहासिक आन्दोलनमा विद्यार्थीहरूको सक्रिय सहभागिताकै कारण वर्तमान राजनीतिक व्यवस्था सम्भव भएको उल्लेख गरे। लोकतान्त्रिक स्वतन्त्रताको उपयोग गरेरै युवा नेतृत्व स्थापित हुने वातावरण बनेको अवस्थामा सरकारले विद्यार्थी संगठनमाथि नै प्रहार गर्नु विरोधाभासपूर्ण रहेको उनको ठहर छ।
विद्यार्थी संगठनहरू राजनीतिक आस्थाका आधारमा मात्र नभई शैक्षिक क्षेत्रका विकृति र विसंगति विरुद्ध आवाज उठाउने वैधानिक निकाय भएको खड्काले बताए। उनले सरकारलाई यो निर्णय तत्काल फिर्ता लिन आग्रह गर्दै अन्यथा लोकतन्त्रको रक्षाका लागि विद्यार्थीहरू पुनः आन्दोलनमा उत्रिन बाध्य हुने र त्यसको जिम्मेवार सरकार स्वयं हुनुपर्ने चेतावनी दिएका छन्।