पार्टीको लेटरहेडको दुरूपयोग गर्दै पूर्णबहादुरले क्रियाशील सदस्यताबारे दिए चुनौती
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ३० सोमबार
1.8k
Shares
तस्बिर : फाइल
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको क्रियाशील सदस्यता कसैले खारेज गर्न नमिल्ने बताएका छन् ।
नेता खड्काले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिको नेतृत्वमा पार्टी निर्वाचनमा गएर प्रमुख प्रतिपक्षको रुपमा अगाडि बढिरहँदा अझै पनि पार्टी कार्यवाहक सभापतिको हैसियतले विज्ञप्ति जारी गरी पार्टी सदस्यता कुनै नेताको भाषणमार्फत खारेज गर्न नसक्ने बताए ।
“निर्दलीय निरङ्कुश पञ्चायती व्यवस्थामा कांग्रेस पार्टी प्रतिबन्धित रहेको बेला ज्यान हत्केलामा राखेर लिएको पार्टी सदस्यता कुनै नेताले आवेग, उत्तेजना वा लहडमा भाषणमार्फत खारेज गरिने विषय जायज होइन, हुन सक्दैन”, उनले भनेका छन् ।
खड्काले पार्टीको सदस्यता कुनै नेताको हारजितसँग नभएर नेपालको राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता, लोकतन्त्र र नागरिक स्वतन्त्रताको लडाइँ, योद्धाहरूको योगदान र सहादत प्राप्त गरेका शहीद परिवारको सम्मानसँग जोडिएको ऐतिहासिक निस्सा भएको बताए ।
उनलाई पार्टीको लेटरहेडको दुरूपयोग नगर्न अहिलेको कार्यसमितिले निर्देशन दिएको भए पनि उनले त्यसको दुरूपयोग गर्दै आएका छन् । निर्वाचन आयोगले गगन थापाको नेतृत्वलाई स्वीकार गर्दै चुनावमा सहभागी गराए पनि खड्का भने चुनावमा कांग्रेसलाई सघाउनुको सट्टा अदालत गएर पार्टी फुटाउन उद्धत देखिए ।
उनले अझै पनि लेटरहेडको दुरूपयोग नै गरिरहेका छन् । पार्टीको १५ औँ महाधिवेशनको तयारी हुँदै गर्दा पूर्णबहादुर भने आफूले आधिकारिक भन्दै आइरहेका छन् ।
के छ पूर्णबहादुरको विज्ञप्तिमा ?
प्रेस विज्ञप्ति
मितिः ३० चैत्र २०८२
आदरणीय पार्टीका विभिन्न तहका पदाधिकारी, सदस्य एव. क्रियाशील सदस्य साथीहरु,
हार्दिक जयनेपाल !
पार्टीको नियमित पन्धौ महाधिवेशन कि विशेष महाधिवेशन भन्ने विषयले हाम्रो पार्टी नेपाली कांग्रेस निर्वाचनको पूर्व सन्ध्यामा विवादको भूमरीमा फसेको र यसैका कारण ऐतिहासिक क्षति व्यहोर्नु परेको कुरा स्पष्टनै छ ।
आम निर्वाचनको मुखैमा पार्टी भित्र मत विभाजन गर्ने कार्य उपयुक्त होइन भनी पन्धौ महाधिवेशन नै निर्वाचन पछि गर्ने गरी २०८३ वैशाख २८ देखि ३१ गते सम्ममा पन्धौ महाधिवेशन काठमाण्डौमा सम्पन्न गर्ने गरि महाधिवेशनको कार्यतालिका केन्द्रीय कार्य सम्पादन समितिको वैठकले संशोधनसहित पारित गरेको सन्दर्भमा तत्कालिन महामन्त्रीहरु आफैँ उपस्थित भई गरेको निर्णयको भावना विपरित हुने गरी विशेष महाधिवेशनको माग गर्ने हस्ताक्षरकर्ताहरुको नेतृत्व गर्दै एकपक्षिय उपस्थिती र सहभागितामा आयोजना गरिएको कथित विशेष महाधिवेशन र सोही महाधिवेशनवाट घोषणा गरिएको कार्यसमितिलाई अध्यावधिको नाममा मान्यता दिने गरि बहुमतका आधारमा गरिएको निर्वाचन आयोगको निर्णय नेपाली कांग्रेस पार्टीको विधान, नेपालको संविधान र दल सम्बन्धी कानूनी व्यवस्थाको विपरित भएको र यसले नेपाली कांग्रेसलाई मात्रै गंभिर अन्याय गरेको छैन वरु नेपालको दलिय व्यवस्थालाई नै कमजोर पार्ने देखिएको भनी न्यायिक निरुपणका लागि हामीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको र सो विषय अहिले पनि सम्मानित सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा रहेको छ ।
पार्टीको आधिकारिकता सम्वन्धमा विवाद विचाराधिन रहेको अवस्थामा तथाकथित विशेष महाधिवेशनवाट बनेको केन्द्रीय कार्यसमितिले नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशनका लागि विधान वमोजिम गरिएको क्रियाशील सदस्यता नविकरण तथा वितरणलाई सार्वजनिक भाषण वाट खारेजीको घोषणा गरिएको कुरा सार्वजनिक संचार माध्यमबाट सम्प्रेषण भएको विषयले हामीलाई आश्चर्यचकित र गंभिर बनाएको छ ।
निर्दलीय निरड्स पंञ्चायती व्यवस्थामा नेपाली कांग्रेस पार्टी प्रतिवन्धित रहेको बेला ज्यान हत्केलामा राखेर लिएको पार्टी सदस्यता कुनै नेताले आवेग, उत्तेजना वा लहडमा भाषण मार्फत खारेज गरिने विषय होइन, हुन सक्दैन । यो सदस्यता त कुनै नेताको हारजीतसँग होइन नेपालको राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता, लोकतन्त्र र नगारिक स्वतन्त्रताको लडाई, योद्धाहरुको योगदान र सहादत प्राप्त गरेका शहिद परिवारको सम्मान संग जोडिएको ऐतिहासिक निस्सा हो ।
त्यसैले पार्टीको आन्तरिक विवाद सर्वोच्च अदालतमा विचाराधिन रहेको बेला कुनै एक पक्षले महाधिवेशन घोषणा गर्नु जति वदनियतपूर्ण छ, २०८३ वैशाख २८ देखि ३१ गते सम्म काठमाडौँमा सम्पन्न हुने गरी पन्ध्रौँ महाधिवेशनको कार्यतालिका सार्वजनिक भईसकेको अवस्थामा सोही महाधिवेशनको कार्यतालिकाको समयसिमा भित्र रही नवीकरण तथा वितरण भएका क्रियाशील सदस्यता खारेज भयो अब फेरि अध्यावधिक गर्नेले मात्र महाधिवेशनमा भाग लिन पाउँछन् भन्नु झन् सरासर अवैधानिक, पूर्वाग्रही र आपत्तिजनक देखिएकोले पार्टीका शीर्ष नेताहरु, सबै तहका पदाधिकारी सदस्यहरुसंगको गहन छलफल र परामर्शवाट हामी यो निष्कर्षमा पुगेका छौँ कि,
(क) नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यक्तिको पार्टी आवद्धताको प्रमाण पत्र मात्रै होइन पार्टीको
ऐतिहासिक जीवन संग जोडिएको योगदान र निरन्तरताको निस्सा हो । (ख) पार्टीको महाधिवेशनले वैधानिक व्यवस्था गरेमा वाहेक आम सदस्यहरुको क्रियाशील सदस्यता खारेज कसैले पन ि गर्न सक्दैन ।
(ग) निर्धारित कार्यतालिका भित्र नविकरण गर्न वा नयाँ लिन छुटेका सदस्यहरुको हकमा थप सुविधा दिने कुरा स्वभाविक हुन्छ तर २०८३ वैशाख २८ देखि ३१ गते पन्ध्रौँ महाधिवेशनको कार्यतालिका प्रकाशित भई क्रियाशील सदस्यता नविकरण तथा नयाँ वितरण गरिएको छ । पन्ध्रौँ महाधिवेशन नै नभइकन फेरी नविकरण गर्ने भन्ने कुरा गर्नु पुर्वाग्रही र आपत्तिजनक छ ।
पार्टी भित्र र वाहिर देखिएका विभिन्न उतारचडावका वाजत संयम, धैर्य र अविचलित भई विधानले निर्धारित गरेको र पार्टीले पहिल्यै निर्णय गरेको कार्यतालिका भित्रनै नविकरण तथा नयाँ सदस्यता लिन चाहने तर छुटेका साथीहरुलाई समेत उचित अवसर दिई पन्ध्रौँ महाधिवेशन सम्पन्न गरिने कुरा स्पष्ट पारिन्छ ।
अतः मुलुक विषम राजनीतिक परिस्थितिमा गुज्रिरहेको बेला पार्टीभित्र वृहत एकता खोज्नुको सट्टा पार्टीलाई थप कमजोर बनाउने गतिविधि केही कसैले पनि गर्नु उचित हुँदैन । तसर्थ यस्तो कार्य नगर्न नगराउँन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै, यस्ता अव्यवहारिक तथा आम पार्टी पंक्त्तिमा भ्रम पार्ने र निराशा सृजना गर्ने खाल्का कृयाकलाप र गतिविधिवाट अलग रहन तथा यस्ता कुनै पनि गतिविधिबाट प्रभावित र विचलित नभई राष्ट्र, जनता र पार्टी हितमा निरन्तर क्रियाशील रहन पार्टीका सबै तहका पदाधिकारी, सदस्य, क्रियाशील सदस्य, समर्थक एवं शुभचिन्तक साथीहरुमा हार्दिक अपील र अनुरोध गरिन्छ ।
जयनेपाल !
तपाईहरुको पूर्णवहादुर खड्का
कार्यवाहक सभापति नेपाली कांग्रेस