नेता पूर्णबहादुर खड्काको स्पष्टीकरण फिर्ता हुँदैन: कांग्रेस अनुशासन समिति
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ७ सोमबार
857
Shares
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता लिन नसकिने अडान लिएको छ।
पार्टीको आधिकारिकताका विषयमा अदालतको फैसला आएलगत्तै खड्कामाथिको स्पष्टीकरण फिर्ता हुने चर्चा चले पनि समितिका संयोजक तारामान गुरुङले विधानबमोजिम गरिएको निर्णयबाट पछि हट्न नमिल्ने प्रष्ट पारेका छन्।
पार्टी मुख्यालय सानेपामा सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै संयोजक गुरुङले स्पष्टीकरणका लागि दिइएको ७ दिनको समयसीमामध्ये अझै २ दिन बाँकी रहेको जानकारी दिए।
उनले यो अवधिमा अरू कुनै पनि निर्णय हुन नसक्ने र सात दिन पूरा भएपछि विधि र प्रक्रियाअनुसारै अगाडि बढ्ने बताए। "स्पष्टीकरण नदिने कुरा कल्पना पनि गर्न सकिँदैन, हामी विधानबमोजिम चलिरहेका छौँ," गुरुङले भने, "यो व्यक्तिको विषय नभई संस्थाको कुरा हो र अनुशासन समिति कसैलाई रिसइबी साध्ने ठाउँ होइन।"
समितिको वैशाख २ गते बसेको बैठकले नेता खड्कालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। यता नेता खड्काले भने अनुशासन समितिको उक्त निर्णय वैधानिक नभएको दाबी गर्दै त्यसलाई अस्वीकार गर्दै आएका छन्।
यसरी पार्टीको शीर्ष नेतृत्व र अनुशासन समितिबीचको यो टकरावले नेपाली कांग्रेसभित्रको आन्तरिक विवादलाई थप पेचिलो बनाएको छ।