संख्यामा थोरै भए पनि संसदमा कांग्रेसको आवाज प्रखर होस् : पूर्णबहादुर खड्का [भिडियो]
राष्ट्रियता र नागरिक अधिकारमा सम्झौता हुँदैन,बजेटदेखि कानून निर्माणसम्म जनताको हित केन्द्रमा राख्नु
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १६ सोमबार
749
Shares
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले संसदमा पार्टीको उपस्थिति संख्यात्मक रूपमा कम भए पनि जनहित र संविधानको रक्षाका लागि प्रभावकारी भूमिका खेल्न नवनिर्वाचित सांसदहरूलाई आग्रह गरेका छन्। सोमबार काठमाडौँमा आयोजित बधाई कार्यक्रममा बोल्दै उनले पार्टीको ऐतिहासिक विरासत र आदर्शलाई शिरमा राखेर संसदमा प्रस्तुत हुन निर्देशन दिए।
खड्काले विशेषगरी आगामी दिनमा संसदमा प्रवेश गर्न सक्ने संविधान संशोधनको मुद्दामा कांग्रेसको अडान स्पष्ट पारे। उनले राष्ट्रियता, स्वाभिमान र नागरिकका मौलिक अधिकारमा कुनै पनि सम्झौता नगरी जनतालाई थप अधिकारसम्पन्न बनाउने दिशामा संशोधन केन्द्रित हुनुपर्नेमा जोड दिए। विगतमा आफ्नै नेतृत्वको सरकारले पनि संविधान संशोधनलाई प्राथमिकतामा राखेको स्मरण गराउँदै उनले अहिले पनि कांग्रेसले यस प्रक्रियामा आफ्नो मूल्य-मान्यता बमोजिम खबरदारी गर्ने बताए।
सांसदहरूलाई सम्बोधन गर्दै उनले भने, "संख्या कम भए पनि हामी लोकतान्त्रिक आन्दोलनको ठूलो धरोहर बोकेर संसदमा छौँ। त्यसैले कानून निर्माण, सार्वजनिक महत्वका प्रस्ताव र छलफलमा पार्टीको तर्फबाट प्रखर र अब्बल प्रस्तुति हुनुपर्छ।" उनले राष्ट्रिय सभा र प्रतिनिधि सभाका सदस्यहरूबीच बलियो एकता कायम राख्न सुझाव दिँदै आवश्यक ज्ञान र प्राविधिक सहयोगका लागि पार्टीका अनुभवी नेताहरू सधैँ तयार रहेको समेत स्पष्ट पारे।