‘एकताको महाधिवेशन’ बनाउन खड्का पक्षका नेताहरू छलफलमा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १५ मंगलबार
377
Shares
काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का आफू पक्षका नेताहरूसँग छलफलमा जुटेका छन् । धुम्बाराहीमा बैठक बसी पार्टीको १५औँ महाधिवेशनलाई एकताको महाधिवेशन कसरी बनाउने भन्ने विषयमा केन्द्रित रहेको नेता मीन विश्वकर्माले बताएका छन् ।
उनका अनुसार बैठकमा १४औँ महाधिवेशनबाट निर्वाचित उनी निकटका कार्यसमिति, केन्द्रीय पदाधिकारी, सदस्य, जिल्ला सभापति र प्रदेश सभापतिहरू सहभागी भएका छन् ।
बैठकमा फागुन २१ मा सम्पन्न निर्वाचनको समीक्षा, पराजयका कारणको विश्लेषण तथा आगामी महाधिवेशनको तयारीबारे छलफल भएको उनले बताए ।
साथै निर्वाचन आयोग र अदालतले गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई वैधानिकता दिइसकेपछि बाँकी नेताहरूलाई पार्टी एकताका लागि कसरी सक्रिय बनाउने भन्ने विषय पनि छलफलको केन्द्रमा रहेको छ ।
नेता विश्वकर्माले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति अर्थात् शेरबहादुर देउवा समूहका नेताहरूको संयुक्त सहभागितामा बैठक भइको जानकारी दिए ।
उनले पार्टीको नियमित महाधिवेशन वैशाख मसान्तमा तय भए पनि अब त्यसबारे आवश्यक निर्णय लिनुपर्ने अवस्था रहेको बताए ।
उनका अनुसार पार्टीभित्रको एकता कायम राख्दै १५औँ महाधिवेशनलाई सबै पक्ष समेट्ने साझा महाधिवेशनका रूपमा सम्पन्न गर्ने विषयमा गम्भीर छलफल चलिरहेको छ ।