गगन-विश्वप्रकाशलाई चुनौती दिन देउवा पक्षको कर्णाली भेला
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २ शनिबार
1.9k
Shares
सुर्खेत । नेपाली कांग्रेसका नेता तथा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का तीन दिनदेखि सुर्खेतमा छन् । कांग्रेसभित्र सभापति शेरबहादुर देउवा निकट समूहको नेतृत्व गरिरहेका खड्काले शनिबार आयोजना हुने प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
पार्टीको ‘बृहत् एकता’ अभियानलाई अघि बढाउने भन्दै देउवा समूहले विभिन्न प्रदेशमा भेला आयोजना गरिरहेको छ । सोही अभियानअन्तर्गत कर्णाली प्रदेशमा भेला आयोजना गरिएको हो । १४औँ महाधिवेशनमा देउवा समूहको प्रभाव रहेको कर्णाली प्रदेश कार्यसमितिको आयोजनामा हुन लागेको उक्त भेलाको संयोजनको जिम्मेवारी कर्णालीका पूर्वमुख्यमन्त्री जीवन शाही लाई दिइएको छ ।
भेलामा स्थानीय तहका जनप्रतिनिधि, प्रदेशसभा सदस्य, प्रतिनिधिसभा सदस्य, कर्णालीबाट प्रतिनिधित्व गर्ने वर्तमान तथा पूर्व केन्द्रीय सदस्य, जिल्लाका पार्टी पदाधिकारी, सुर्खेतका वडा तहसम्मका प्रतिनिधि तथा भातृ एवं शुभेच्छुक संस्थाका पदाधिकारीलाई आमन्त्रण गरिएको छ ।
देउवा समूहले आयोजना गरेको भेलामा सहभागी हुने वा नहुने भन्ने विषयमा भने केही जनप्रतिनिधि र पार्टी पदाधिकारी अन्योलमा देखिएका छन् । प्रदेशसभा सदस्यहरूलाई संसदीय दलमार्फत निर्देशनात्मक पत्राचार गरिएको छ भने प्रदेश समितिमार्फत पार्टी पदाधिकारीलाई अनिवार्य उपस्थित हुन भनिएको स्रोतले जनाएको छ ।
खड्काको गृह जिल्ला सुर्खेतमा हुने भेलामा व्यापक सहभागिता देखाउन कार्यकर्तालाई सर्कुलरसमेत गरिएको छ । कार्यक्रमभन्दा दुई दिनअघि नै सुर्खेत पुगेका खड्काले कार्यकर्ता भेटघाटलाई तीव्रता दिएका छन् ।
यसअघि वैशाख २८ र २९ गते कांग्रेसका सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री प्रदीप पौडेल लगायतका नेताले कर्णालीमा प्रदेशस्तरीय भेला गरेका थिए । देउवा समूहको यो भेला उक्त कार्यक्रमलाई राजनीतिक रूपमा चुनौती दिने उद्देश्यसहित आयोजना गरिएको बताइएको छ ।