नयाँ संघीय संसद् भवन निर्माणमा ढिलाइ: निर्माण व्यवसायी मुख्य दोषी
विभागको पनि आंशिक कमजोरी स्वीकार
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ८ मंगलबार
776
Shares
काठमाडौँ । शहरी विकास तथा भवन निर्माण विभागले सिंहदरबार परिसरमा निर्माणाधीन नयाँ संघीय संसद् भवनको निर्माण कार्यमा भएको ढिलाइको मुख्य कारण निर्माण व्यवसायीको कमजोरी रहेको स्पष्ट पारेको छ। मंगलबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै विभागका महानिर्देशक रवीन्द्र बोहराले यस्तो स्पष्टीकरण दिए।
महानिर्देशक बोहराले संसद् भवन निर्माण कार्यमा ढिलाइ हुनुमा विभागको पनि करिब ३० प्रतिशत आंशिक कमजोरी रहेको स्वीकार गरे। सरकारको डिजाइन र ठेक्का प्रणालीमा रहेका समस्याका कारण विकास निर्माणका काम प्रभावित हुने गरेको उनको जिकिर छ।
उनले भने, ‘संघीय संसद् भवन निर्माणमा ढिलाइ हुनुको मुख्य कारण निर्माण व्यवसायीको कमजोरी हो। सेयरको समस्यादेखि कामदार व्यवस्थापनसम्मका कुराले गर्दा काममा ढिलाइ भएको हो। यसमा समग्रमा हेर्दा ३० प्रतिशत हामी जिम्मेवार छौँ। हाम्रो डिजाइन र ठेक्का प्रणालीमा समस्या रहेकाले पनि निर्माण कार्यमा ढिलाइ भइरहेको छ।’
बोहराले विगतको नेतृत्वका कमजोरीहरूलाई हालको नेतृत्वले नदोहोर्याएको दाबी गरे। साथै, कोभिड-१९ जस्ता बाह्य प्राकृतिक समस्याले पनि निर्माणको गतिमा असर पारेको उनले उल्लेख गरे। हाल नयाँ संसद् भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिँदै उनले आगामी असारसम्ममा सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको बताए।