श्रीकृष्णप्रसाद, विष्णुकुमारी र रोशनीले पाए नेतृत्व
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ७ सोमबार
649
Shares
काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले सोमबार तीनवटा महत्वपूर्ण संसदीय उपसमितिहरू पुनर्गठन गरेको छ। सिंहदरबारमा बसेको समितिको बैठकले कार्यक्षेत्रको विशिष्ट अध्ययन र अनुसन्धानलाई प्रभावकारी बनाउन यी उपसमितिहरूलाई नयाँ स्वरूप दिएको हो।
समिति सभापति जयन्तीदेवी राईका अनुसार संघीयता सबलीकरण उपसमितिको संयोजकको जिम्मेवारी श्रीकृष्णप्रसाद अधिकारीलाई दिइएको छ भने उक्त समितिको सदस्यहरूमा उदय बोहरा, किरणबाबु श्रेष्ठ र सोनाम गेल्जेन शेर्पा रहेका छन्।
त्यसैगरी, अन्तर्राष्ट्रिय सम्बन्ध तथा राष्ट्रिय सुरक्षा उपसमितिको संयोजकमा विष्णुकुमारी सापकोटा चयन भएकी छन् भने उक्त उपसमितिमा नारायणदत्त मिश्र, ललितजंग शाही र दुर्गाकुमारी गुरुङ सदस्यका रूपमा रहेका छन्। सामाजिक न्याय उपसमितिको नेतृत्व भने रोशनी मेचेले सम्हाल्ने छिन् र यस उपसमितिका सदस्यहरूमा धर्मेन्द्र पासवान र मनरुपा शर्मा चयन भएका छन्।
सभापति राईले संघीयता सबलीकरण र राष्ट्रिय सरोकारका विविध आयामहरूको गहिरो अध्ययन गर्न यी उपसमितिहरू परिचालन गरिएको जानकारी दिइन्। यी पुनर्गठित उपसमितिहरूले आ–आफ्नो कार्यक्षेत्रभित्र रहेर अध्ययन तथा अनुगमन गरी समितिमा विस्तृत प्रतिवेदन पेस गर्ने जिम्मेवारी पाएका छन्। यस कदमले संसदीय निगरानी र राष्ट्रिय सरोकारका मुद्दाहरूको उठानमा थप प्रभावकारिता ल्याउने विश्वास गरिएको छ।