बजेट अधिवेशनलाई फरक र प्रभावकारी ढंगले अघि बढाउने तयारी
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ४ शुक्रबार
768
Shares
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले आगामी बजेट अधिवेशनलाई फरक र प्रभावकारी ढंगले अघि बढाउने तयारी भइरहेको बताए। शुक्रबार सिंहदरबारमा संसदीय मामिला पत्रकार समाजमा आबद्ध सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो योजना सार्वजनिक गरेका हुन्।
सभामुख अर्यालले संसदका सबै गतिविधिलाई प्रत्यक्ष रूपमा प्रसारण गरेर संसदीय प्रक्रियालाई पूर्ण रूपमा पारदर्शी बनाउन चाहेको उल्लेख गरे। उनले सञ्चारकर्मीहरूलाई संसदमा सहज पहुँच विस्तार गर्न कुनै समस्या आउन नदिने स्पष्ट पारे। कुनै पनि विधेयकको मस्यौदा (ड्राफ्ट) गर्दा सरोकारवालाहरूसँग पटक-पटक छलफल गरेर मात्र अघि बढाउने आफ्नो प्रतिबद्धता रहेको उनले बताए।
देशको आवश्यकतालाई ध्यानमा राखेर संसदमा नयाँ नजिरहरू स्थापित गर्दै लैजाने कार्ययोजना सुनाउँदै सभामुख अर्यालले भने, "हामीले नयाँ नजिरहरू स्थापित गर्दै जानुपर्ने हुन सक्छ, किनकि अबको समाज र देशका लागि त्यो आवश्यक छ। हामी कुनै पनि कुरा लुकाउने वा छिपाउने पक्षमा छैनौँ, त्यसैले सबै कार्यक्रम लाइभ गर्ने उद्देश्य बोकेका छौँ। विधेयक ड्राफ्ट गर्नुअघि शतप्रतिशत सरोकारवालाहरूसँग बस्ने र यस पटकको बजेट अधिवेशनलाई फरक बनाउन काम गरिरहेका छौँ।"
सभामुख अर्यालले कानुन निर्माणको कामलाई छिटो-छरितो ढंगले सम्पादन गर्नका लागि संसदीय नियमावलीमा संशोधन गर्न चाहेको समेत बताए। उनले संसदीय अभ्यासलाई आधुनिक र जनमुखी बनाउन आफू सचेत रहेको जानकारी दिए।