रवि लामिछानेको वचनपछि मात्रै उपसभामुखमा उम्मेदवारी दिएका हौँ: ज्ञानबहादुर शाही [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २६ बिहिबार
948
Shares
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहयोग गर्ने आश्वासन दिएपछि मात्रै आफ्नो पार्टीले उपसभामुखमा उम्मेदवारी दिएको दाबी गरेका छन्। बिहीबार उपसभामुखको उम्मेदवारी दर्तापछि पत्रकारहरूसँग कुरा गर्दै नेता शाहीले सभापति लामिछानेले आफैँ फोन गरेर समर्थन गर्ने वचन दिएको बताएका हुन्।
लामिछानेको सोही फोन र आश्वासनपछि राप्रपाले सरस्वती लामालाई उपसभामुखको उम्मेदवार बनाएको शाहीको भनाइ छ। यद्यपि, रास्वपाले भने श्रम संस्कृति पार्टी (श्रसपा) की सांसद रुवीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ। रास्वपाले अन्तिम समयमा राप्रपालाई समर्थन नगरेको विषयमा टिप्पणी गर्दै शाहीले राजनीतिमा कहिलेकाहीँ यस्ता 'तलमाथि' हुने र यसलाई आफूहरूले स्वभाविक रूपमा लिएको बताए।
"हामीले सबै पक्षसँग कुरा गरेर नै उम्मेदवारी दर्ता गराएका हौँ। स्वयं रवि लामिछानेज्यूले फोन गरेपछि मात्र हामी अघि बढेका हौँ," शाहीले भने, "अहिले उहाँहरूले अर्कोतिर समर्थन गर्नुभयो भने त्यसमा मेरो आपत्ति छैन। म सधैँ सत्य र यथार्थ कुरा बोल्छु। सबै प्रतिपक्षी दलहरू एक भएपछि नै यो कदम चालिएको हो, अब राजनीतिमा हुने यस्ता फेरबदलको जवाफ भोलि हामी पनि देखाउँला।"
नेता शाहीले खसआर्य पुरुष समुदायबाट सभामुख निर्वाचित भइसकेकाले समावेशितालाई ध्यानमा राख्दै राप्रपाले जनजाति महिला (सरस्वती लामा) लाई उपसभामुखको उम्मेदवार बनाएको समेत प्रस्ट पारे। उपसभामुखको निर्वाचन प्रक्रिया अघि बढ्दै गर्दा प्रतिपक्षी दलहरूबीच देखिएको यो असमझदारीले नयाँ राजनीतिक बहस सिर्जना गरेको छ।