लोकप्रियतावादका नाममा गैरकानूनी काम नगर्न सरकारलाई सांसदहरूको चेतावनी
राष्ट्रिय गौरवका आयोजनामा ध्यान दिन आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २६ बिहिबार
816
Shares
काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरूले सरकारलाई लोकप्रियताका लागि कानूनविपरीतका गतिविधि नगर्न सचेत गराएका छन्।
बिहीबार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा नेपाली कांग्रेसका सांसद ललितजंग शाही र नेकपा (एमाले) का सांसद सोनाम ग्याल्जेन शेर्पालगायतले सरकारको कार्यशैलीको आलोचना गरेका हुन्।
सांसद सोनाम ग्याल्जेन शेर्पाले सरकारले विनाप्रमाण पक्राउ गर्ने र भ्रष्टाचारको मुद्दा लगाउने जस्ता गैरकानूनी काम गरिरहेको आरोप लगाए। उनले सरकार लोकप्रियतावाद (पपुलिजम) मा हौसिएर जथाभावी अघि बढ्न नहुने बताए। फेसबुक र सामाजिक सञ्जालमा जनता खुसी हुने बहानामा कसैको घर भत्काउने वा डोजर लगाउने कार्य कानूनसम्मत छ कि छैन भन्नेमा सरकार गम्भीर हुनुपर्नेमा उनले जोड दिए। जनता जेमा खुसी हुन्छन्, सरकारले विनाप्रमाण त्यही काम गर्दै जानु लोकतन्त्रका लागि घातक हुने उनको तर्क थियो।
यस्तै, बैठकमा नेपाली कांग्रेसका सांसद ललितजंग शाहीले अलपत्र अवस्थामा रहेका राष्ट्रिय गौरवका आयोजनाहरूलाई गति दिन सरकारको ध्यानाकर्षण गराए। उनले आयोजनाहरू समयमै सम्पन्न नहुनुमा बजेट अभाव, प्राविधिक समस्या, ठेकेदारको लापरबाही वा सार्वजनिक खरिद ऐन बाधक रहेको हुन सक्ने औँल्याए। संसदीय समितिले त्यस्ता आयोजनाहरूको स्थलगत अनुगमन गरी समस्याको चुरो पत्ता लगाएर सरकारलाई स्पष्ट सुझाव दिनुपर्ने उनको भनाइ थियो।
बैठकमा सहभागी अन्य सांसदहरूले पनि विकास निर्माणका कामलाई प्रभावकारी बनाउन र सरकारका कामकारबाहीलाई विधिसम्मत ढङ्गले अघि बढाउन संसदीय समितिले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए।