नवनिर्वाचित सभामुख अर्याललाई ज्येष्ठ सदस्य केसीको बधाई
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २२ आइतबार
716
Shares
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकबाट निर्विरोध निर्वाचित सभामुख डोलप्रसाद (डीपी) अर्याललाई ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सफल कार्यकालको शुभकामनासहित बधाई दिएका छन् ।
बैठकमा उक्त पदका उम्मेदवारको सूचना दिने प्रस्तावक र समर्थकको मन्तव्यपछि बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य केसीले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरे ।
त्यसअघि बैठकमा रास्वपाका सभापति रवि लामिछानेले अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । उनको प्रस्तावमा अर्थमन्त्री स्वर्णिम वाग्ले र कानून मन्त्री सोविता गौमतले समर्थन गर्दै आफ्नो धारणा राखेका थिए ।
अर्थमन्त्री वाग्लेले २०४७ सालदेखिका सभामुख दमननाथ ढुङ्गानादेखि हालसम्मका सभामुखको भूमिका र योगदानलाई स्मरण गर्दै संसदलाई जीवन्त र सन्तुलित बनाउन अब निर्वाचिन हुने सभामुख अर्यालले भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
एक जनाको मात्रै उम्मेदवारी परेसँगै ज्येष्ठ सदस्य केसीले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।
फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा अर्याल काठमाडौँ क्षेत्र नम्बर–९ बाट विजयी भएका थिए । उनी ०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा अर्याल समानुपातिक सांसद बनेका थिए । त्यसपछि उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका थिए ।
प्रतिनिधि सभाको अर्काे बैठक सोमबार दिउँसो १ बजे बस्नेछ ।